arrow

को हो शिन्जो आबेको हत्या गर्ने संदिग्ध ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
shinzo-abe-suspect-shooter.jpg

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा चुनावी अभियानमा सहभागी हुने क्रममा गोली हानी हत्या भएको छ। जापानमा प्रधानमन्त्रीका रुपमा सबैभन्दा लामो समय सेवा गरेका आबेलाई हिरासतमा लिइएका एक दर्शकले गोली हानेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले संदिग्ध व्यक्तिको पहिचान तेत्सुया यामागामी भएको जनाएको छ । उनी जापानको नारा शहरका बासिन्दा हुन् । ती संदिग्धले आबेसँग आफू असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको प्रहरीलाई बताएको जापान ब्रोडकास्टिङ कर्पोरेशन (एनएचके)ले जनाएको छ ।

४१ वर्षीय संदिग्ध जापानी सेनाको समुद्री आत्मरक्षा बलका पूर्व सदस्य रहेको बताइएको छ । उनले सन् २००५ सम्म सेवा गरेको अनुमान गरिएको छ भने रक्षा मन्त्रालयले थप जानकारी संकलन गरिरहेको छ ।

आक्रमणका एक प्रत्यक्षदर्शीका अनुसार आबेलाई गोली हानेपछि उनले भाग्ने प्रयास गरेका थिएनन् ।

खैरो टि सर्ट र बेज रंगको ट्राउजर लगाएका ती संदिग्धलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो । गोली चलाउँदा उनी आबेको पछाडि केवल १० फिटको दूरीमा उभिएको अवस्थामा रहेको बताइएको छ । ती व्यक्तिले गोली चलाएपछि शिन्जो आबे आफ्नो भाषणको बीचमा स्टेजमै ढलेका थिए ।

ती व्यक्तिसँग नरैनिशी प्रहरी चौकीमा सोधपुछ शुरु भएको थियो । संदिग्धले आफै‌ले बनाएको बन्दूकले गोली चलाएको अनुमान गरिएको छ । उनीमाथि हत्याको अभियोग लगाइएको छ ।

एनएचकेका अनुसार ती व्यक्तिले राजनीतिक विश्वास विरुद्धको रीस नभएको बताएका छन् । संदिग्ध र उनले आक्रमण गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ