arrow

कास्कीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
kyadukhola.jpg
तस्बिर– फाइल

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । 

मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । उनका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्टहाउसका सञ्चालक एकजङ्ग गुरुङले आफ्ना भाइमार्फत हुगुगोठ छेउको क्यादुखोला थुनिएको सूचना गाउँमा दिए ।

वडाध्यक्ष गुरुङले भने, “नदी थुनिएको खबर माथिबाट प्राप्त भएपछि नदी आसपासको मानव बसोबास भएको क्षेत्र र हाइड्रोपावरहरूमा सतर्कता अपनाउन आग्रह गरेका छौँ । एक घण्टाजति थुनिएको नदी अहिले विस्तारै थोरै मात्रामा बग्न थालेको जानकारी प्राप्त भएको छ । माथि हुगुमै रहेकालाई सुरक्षित स्थानमा छन्, यसका बारेमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकालाई सूचना दिएका छौँ ।”

क्यादुखोला मादी नदीमा मिसिने खोला हो । मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ । अविरल वर्षाका कारण नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष बर्खायाममा मादी नदी र यसका सहायक नदीहरूमा आएको बाढीले जलविद्युत् आयोजनाहरू बगाएको थियोे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ