arrow

सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई : ट्रष्टमा छुट्टाएको बजेट फिर्ता

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ असार २७ सोमबार
mekhalal-shretha.jpg

स्याङ्जा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरूले बुवा-आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो । 

बुवा-आमाको नाममा रहेको ट्रष्टमा बजेट छुट्टाएको आलोचना गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ परे । उनले बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि एक करोड रकम छुट्टाएपछि उनकै गृहजिल्ला स्याङ्जाका नागरिकहरूले सामाजिक सञ्जाल मार्फत चर्को विरोध गरेका थिए । 

जनताको दैनिकीमा परेको समस्यालाई हल गर्नुको साटो मन्त्री श्रेष्ठले आफ्ना बुवाआमाको नाममा ट्रष्ट बनाउन १ करोड छुट्टाएको भन्दै शनिवार दिनभर सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । विदेश तथा जिल्लामै बसेका स्याङ्जावासीले सामाजिक सञ्जाल मार्फत रकम फिर्ता गराउन ठुलो दबाब दिएका थिए । 

रकम फिर्ता देखि प्रदेश मन्त्रीबाट राजीनामा समेत माग गर्दै सामाजिक सञ्जालमा चर्को विरोध शुरु भएपछि आइतबार बिहान मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल बाटै सो रकम फिर्ता गरेको उल्लेख गरे ।

बेला बेलामा विवादमा आइरहने प्रदेश मन्त्री श्रेष्ठलाई अन्त्यमा सामाजिक सञ्जालले गलाएर छाडेको छ । उनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्टाएको बजेट नलिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

उनले आफ्नो राजनीति सधैँ जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ती भएको भए माफी दिन र सच्चिने मौका दिन समेत फेसबुक मार्फत आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजनिक भए लगत्तै आफ्नो बारेमा विभिन्न भ्रम सृजना भएको उल्लेख गर्दै उनले आफू उक्त विषयमा गम्भीर रहेको लेखेका छन् । 

मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुटाइएको शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न समेत अर्थमन्त्रीलाई आग्रह गरेका छन् । मेरो स्व.पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिब रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो भन्ने पनि उल्लेख गरेका छन् । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिबद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरूको हकहितमा सदुपयोग होस भन्ने चाहना समेत व्यक्त गरेका छन् । 

रकम फिर्ता गरेर मात्रै नभएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले पाटीको बदनाम गरेको समेत आरोप लगाएका छन् । मन्त्री श्रेष्ठले पार्टीमा माफी माग्दै मन्त्री पदबाट समेत राजीनामा दिन स्याङ्जाका काँग्रेस कार्यकर्ताहरूले माग गरेका छन् । 

यस विषयमा नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरतराज लम्सालले पाटीको ध्यानाकर्षण भएको जनाएका छन् । पार्टी गम्भीर भएको भन्दै यस विषयमा छलफल हुने र सबै विषय सार्वजनिक हुने धारणा व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ