arrow

गोटाबायाले राजीनामा पत्रमा गरे हस्ताक्षर, संसद्ले बुधबार सार्वजनिक गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
gotabaya-rajapaksa.jpg

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले पदबाट राजीनामा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा बुधबार हुनेछ । 

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसद्बाट बुधबार उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् । 

सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । 

प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी सोमबार दिएका थिए । 

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो । 

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलङ्काले अकल्पनीय आर्थिक सङ्कटको सामना गरिरहेको छ । 

आर्थिक रूपमा टाटपल्टिएको श्रीलङ्कामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ