arrow

उपसभामुखमा पुष्पा भुषाल !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
puspa-bhusal-mcc.jpg

काठमाडौं । प्रतिनिधि सभाले भोलि उपसभामुख पाउँदैछ । रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । अहिले केही बेरमै नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले मनोनयन दर्ता गर्ने भएकी छिन् । 

पाँच दलीय गठबन्धनबाट भुषालको नाम अनुमोदन भएको स्रोतले बताएको छ । माओवादी केन्द्रबाट सभामुख अग्निप्रसाद सापकोटा भएपछि अब सत्तारुढ गठबन्धनबाट कांग्रेसले स्वतः उपसभामुख पाउने बताइएको छ । 

गठबन्धनबाट भुषालको नाम सिफारिस भएसँगै उनी निर्विरोध उपसभामुख हुने सम्भावना बढेको छ । प्रमुख प्रतिपक्ष दलबाट अहिलेसम्म कसैलाई उम्मेदवार बनाउनेबारे चर्चा भएको छैन । 

यदि अन्य कसैले उम्मेदवारी दिएमा उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । यदि अन्यको उम्मेदवारी नपरे भुषाललाई स्वतः भोलि उपसभामुख घोषणा गरिने छ । 

तत्कालीन उपसभामुख डा।शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

त्यतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपा सत्तामा भएकाले विपक्षले उपसभामुख पाउनु पर्ने भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुखका लागि पहल नै गरेन । 

तत्कालीन सभामुख नेकपा भित्रका माओवादी केन्द्रबाट आएका कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि उनी पदमुक्त भएका थिए । त्यसपछि तुम्बाहाङ्फेले सभामुख हुन चाहेको भए पनि माओवादी केन्द्र समूहबाट आएका अग्निप्रसाद सापकोटा सभामुख बने । 

एमाले र माओवादीको सहमतिअनुसार प्रधानमन्त्री एमालेको र सभामुख माओवादीको भन्ने थियो । त्यसपछि भने नेकपाले उपसभामुखका लागि चासो राखेन । उसले तत्कालिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई उपसभामुख दिन चाहेन । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको एक वर्षपछि बल्ल उपसभामुख चयन हुन लागेको हो । उक्त पदमा कांग्रेसकै सांसद हुने दाबी गरिएको छ । कांग्रेस सत्तामा भए पनि सभामुख माओवादी केन्द्रबाट भएकाले कुनै समस्या नभएको दाबी गरिएको छ । 

कांग्रेसबाट महिला सांसद उपसभामुख हुनेछिन् । तर उनको कार्यकाल बढीमा पाँच महिनाको हुनेछ । संघको चुनाव मंसिर ४ गते हुने लगभग पक्का रहेको अवस्थामा उपसभामुखको पद बढीमा पाँच महिनाको हुने भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ