- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको अन्नपूर्ण केवलकार बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि एक साता केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख छ ।
कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउनेछ । जापानी प्राविधिकहरुले केवलकारको नियमित परीक्षण गर्ने उनले बताए ।
पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी-सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन थालेको छ । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।
केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट पुग्न नौ मिनेटमात्रै लाग्नेछ । अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीका अनुसार केवलकार निर्माणमा करिब दुई अर्ब लगानी भएको छ । कोरोना महामारीले निर्धारित समय भन्दा केही ढिलो गरी केवलकार सञ्चालनमा आएको हो ।
शुरुआतमा एक अर्ब ३० करोड लागत अनुमान गरिएकोमा संरचना थप र संक्रमणकालीन समयका कारण लागत बढेको कम्पनीको दावी छ । कम्पनीमा स्थानीयको २५ प्रतिशतको लगानी छ ।
केवलकारको १७ डिब्बा यात्रुका लागि र एक डिब्बा सामान ओसारपसार गर्न पयोग गरिनेछ । एक डिब्बामा आठ जनाको सिट क्षमता छ । केवलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय, मनोरम हिमश्रृंखला, मनोरम पोखराको दृश्य अवलोकन गर्न सकिनेछ ।
केवलकारको माथिल्लो स्टेशनमा भ्यू टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुनेछन् । पोखरामा पहिलो केवलकार निर्माणले यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।