arrow

भारत लाग्दै प्रचण्ड, यस्तो छ भ्रमण तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् । सत्ताधारी दल भारतीय जनता पार्टी भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा उनी भारत जान लागेका हुन् । तीन दिने भ्रमणमा जान लागेका प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।

भाजपा अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालबीच भेटवार्ता तय भएको छ। 

यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।

चिनियाँ उच्चस्तरीय टोलीको चार दिने नेपाल भ्रमण सकिएलगत्तै प्रचण्ड भारत जानुलाई विशेष अर्थका रुपमा हेरिएको छ । 

त्यतिमात्र होइन भाजपाको आमन्त्रण अनि प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजू राणा देउवा पनि दिल्लीमै रहेका बेलामा हुँदै गरेको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

कहिले गए प्रचण्ड भारत ?
यसअघि प्रचण्ड २०६५ भदौमा प्रधानमन्त्रीको हैसियतमा पाँच दिने भ्रमणमा भारत गएका थिए । 

२०७० साल बैशाखमा माओवादीको अध्यक्षको हैसियतमा उनी चार दिने भ्रमणमा भारत गएका थिए । 

दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी २०७३ असोजमा चार दिने भ्रमणका लागि भारत गएका थिए । २०७३ को कार्तिकमै पुनः भारत भ्रमणमा गएका थिए । 

२०७५ भदौमा नेकपा अध्यक्षका रुपमा उनी भारत गएका थिए । 

त्यस्तै पत्नी सीताको उपचारका लागि उनी २०७८ पुसमा भारत गएका थिए । 

त्यसअघि गएका भारत भ्रमण भने औपचारिक थिएनन् । व्यक्तिगत तबरले पनि गए होलान् र माओवादीको सशस्त्र द्धन्द्धका क्रममा पनि पटक पटक भारत गएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ