arrow

पुष्पा भुषाल उपसभामुख बन्दै, दिउँसो मतदान, विद्या प्रतिस्पर्धी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
puspa-bhusal-vidya-bhattarai1.jpg

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते घोषणा गर्न सरकारलाई सिफारिस गरेसँगै करिब पाँच महिनाका लागिमात्रै पदावधि रहेको प्रतिनिधि सभाको उपसभामुखका लागि आज दिउँसो मतदान हुँदैछ । अर्थात् आज दिउँसो प्रतिनिधि सभाले उपसभामुख पाउँदैछ । 

साढे दुई वर्षदेखि रिक्त रहेको उपसभामुख प्रतिनिधि सभाले पाउँदैछ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा आज दिउँसो ३ बजे उपसभामुखका लागि निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार बनेकी छिन् ।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद खाली छ । उनले आफू सभामुख हुनका लागि भनेर राजीनामा दिएको भए पनि उनलाई पार्टीले पत्याएन । तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको थियो । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि पदबाट हटेका थिए । त्यसपछि उक्त पदमा अग्निप्रसाद सापकोटा २०७६ माघ १२ मा निर्वाचित भएका थिए । मुलुकले सभामुख पाए पनि उपसभामुख पाएन । 

सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुन पाइँदैन । त्यसैले पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख प्रमुख प्रतिपक्षलाई दिन चाहेन । पछि एमाले र माओवादीको एकता कानूनी रुपमा टुट्यो । अहिले एमाले प्रतिपक्षमा छ भने माओवादी सत्तारुढ दलमा छ । 

माओवादीबाट सापकोटा सभामुख रहेका अवस्थामा अब कांग्रेसबाट उपसभामुख तोकिने छ । उपसभामुख चयनका लागि सभामुख सापकोटाले बुधबार मात्रै दिन र समय तोकेका थिए ।

उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । सो समयमा गठबन्धनबाट कांग्रेसकी भुषाल र एमालेबाट भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । 

भुषालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी रहेका छन् । एमालेको उपसभामुख उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन् । 

सांसदको अंक गणितमा भुषालको जित सुनिश्चित
प्रतिनिधि सभाको अंक गणित हेर्दा उपसभामुखमा गठबन्धनकी उम्मेदवार भुसालको जित सुनिश्चित देखिएको छ । गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् ।

एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् । त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । 

हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ