arrow

पुष्पा बनिन् उपसभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
puspa-bhusal-deputy-speaker-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम उपसभामुख बनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार भएको मतदानमा पुष्पा १४८ मतसहित विजयी हुँदै उपसभामुख बनेकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत ल्याइन् । मतदानमा २४२ जनाले भाग लिएका थिए । 

पुष्पा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । विद्या एमालेका तर्फबाट उम्मेदवार थिइन् । पुष्पालाई पाँच दलीय गठबन्धनसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको पनि समर्थन रहेको थियो । विद्यालाई भने एक मत रहेको राप्रपाले समर्थन गरेको थियो । 

संसदको अर्को दल नेपाल मजदुर किसान पार्टी नेमकिपा भने तटस्थ बसेको थियो । 

प्रतिनिधि सभाको अंक गणित हेर्दा गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । 

एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् । त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । 

हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि गठबन्धनलाई साथ दियो । 

एमालेलाई १ सिट भएको राप्रपाले साथ दियो भने एक सिटे नेमकिपा तटस्थ बस्यो । 

निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते घोषणा गर्न सरकारलाई सिफारिस गरेसँगै करिब पाँच महिनाका लागिमात्रै पदावधि रहेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो । 

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद खाली रहेको थियो । उनले आफू सभामुख हुनका लागि भनेर राजीनामा दिएको भए पनि उनलाई पार्टीले पत्याएन । तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको थियो । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि पदबाट हटेका थिए । त्यसपछि उक्त पदमा अग्निप्रसाद सापकोटा २०७६ माघ १२ मा निर्वाचित भएका थिए । मुलुकले सभामुख पाए पनि उपसभामुख पाएन । 

सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुन पाइँदैन । त्यसैले पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख प्रमुख प्रतिपक्षलाई दिन चाहेन । पछि एमाले र माओवादीको एकता कानूनी रुपमा टुट्यो । अहिले एमाले प्रतिपक्षमा छ भने माओवादी सत्तारुढ दलमा छ । 

माओवादीबाट सापकोटा सभामुख रहेका अवस्थामा कांग्रेसबाट उपसभामुख तोकिएको हो । उपसभामुख चयनका लागि सभामुख सापकोटाले बुधबार मात्रै दिन र समय तोकेका थिए ।

उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । सो समयमा गठबन्धनबाट कांग्रेसकी भुषाल र एमालेबाट भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । 

भुषालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी रहेका थिए । एमालेको उपसभामुख उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका थिए । 

प्रतिनिधि सभाको अर्को बैठक साउन ४ गते बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ