arrow

तत्काल विधेयक पारित गरेर नागरिकताविहीनलाई नागरिकता दिन दिव्यमणीको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
divyamani-rajbhandari-parliament-2079-04-01.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले नेपाली नागरिकतासम्बन्धी विधेयक तत्काल पारित गरेर नागरिकताविहीनलाई नागरिकता दिन माग गरेका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधित गर्न बनेको विधेयक पहिलो संशोधन २०७९ का बारेमा प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता राजभण्डारीले अहिले संशोधन गर्न बनेको विधेयक जतिसक्यो छिटो पारित गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘कतिपय कारणवश लामो समय यो समितिमा छलफल गरेता पनि संसदमा यसबारे कुनै छलफल हुन सकेन । त्यसपछि लामो समय अवरुद्ध भयो । अहिले सरकारले समय र परिस्थितिलाई मध्यनजर गरेर यो विधेयक अगाडि ल्याइकन जनतालाई सुविधा दिन वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्नको निम्ति जुन यो विधेयक ल्याइएको छ यो स्वागतयोग्य छ । यसलाई जतिसक्यो छिटो छलफल गरेर यो विधेयकलाई पारित गरिकन दुःख पाएका र वञ्चित भएका नेपाली जनतालाई यथासीघ्र नागरिकता दिने बन्दोबस्त हामीले गर्नुपर्छ ।’

सांसद राजभण्डारीले नागरिकता पाउँदा स्पष्टसँग अधिकारका बारेमा ब्याख्या गर्न जरुरी रहेकोसमेत उल्लेख गरेका छन् । उनले भने, ‘यो विधेयकले गैर आवासीय नेपालीहरुलाई पाउनु पर्ने अधिकार नेपालको संविधानले प्रावधान गरेको कुराअनुसार उनीहरुले पाउने वैकल्पिक नागरिकताका बारेमा पनि स्पष्टसँग ब्याख्या गरेको छ । यो सँगसँगै आवासीय नेपालीहरुले जब नेपालको नागरिकता पाउँछन् भने उनीहरुको अधिकारका बारेमा स्पष्टसँग ब्याख्या हुनु जरुरी छ ।’

अधिकारबारे थप स्पष्ट पार्दै सांसद राजभण्डारीले भने ‘ताकि पछि उनीहरुले यसबाट कार्यान्वयन गर्न खोज्दा खेरी कतैबाट प्रशासकीय झमेला नहोस् । गैरआवासीय नेपालीहरुको दुई वटा क्याटागोरी छ । एउटा उनीहरु नेपाली नागरिक नै भएर बसेका पनि छन् भने गैरआवासीय नागरिकहरु विदेशी नागरिकता लिएर पनि बसेका छन् । त्यसलाई चाहिँ पिपुल अफ नेपलिज ओरिजन । त्यसको तीन पुस्तासम्मले चाह्यो भने नेपाली नागरिकता लिन सक्ने भन्ने स्पष्ट भएको ठीक छ । तर नागरिकता लिँदाखेरीको अधिकारका कुरामा स्पष्ट हुन जरुरी छ ।’

उनले आर्थिक कुरामा स्पष्ट नभए विवाद निम्तन सक्नेतर्फ सचेत गर्दै आर्थिक विषयलाई गम्भीरपूर्वक सुल्झाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यसमा सांस्कृतिक र सामाजिक कुरामा स्पष्ट भएको हुन सक्छ भने आर्थिक कुरामा स्पष्ट भएको छैन । आर्थिक कुरामा स्पष्ट हुन बहुत जरुरी छ । किनभनेदेखि उनीहरुको पैतृक सम्पत्तिको कुरा हुन्छ । उनीहरुका हकका कुराहरु हुन्छन् । बकसका कुरा हुन्छन् । उनीहरुका पुराना सम्पत्तिका कुराहरु पनि उनीहरुको नाममा कसरी आउने र उनीहरुले कसरी भोगचलन गर्न पाउने भन्ने सन्दर्भमा यो विधेयकमा स्पष्ट हुनुपर्ने मलाई लाग्दछ ।’

अर्कातर्फ उनले महिला र पुरुषको समानताको विषयसमेत उठाएका छन् । नेता राजभण्डारीले भने, ‘अहिले देखेको विधेयकमा महिला र पुरुषको समानताको कुरा फेरि देखिएन । एक तरिकाबाट पुरानोमा भएको थियो भने मलाई एउटा यो विधेयकमा थप के हुनुपर्छ भनेदेखिन् यदि कोही विदेशी महिलासँग नेपालीहरुले ब्याहा गरेर ल्याएर कथंकदाचित उनीहरुले नागरिकता पाएन भनेदेखिन् उनीहरुले नेपालमा बसोबास गर्ने चाहिँ उनीहरुलाई अधिकार हुनुपर्छ । त्यसै गरीकन कुनै पनि नेपाली चेलीहरुले विदेशीसँग विवाह गर्यो भनेदेखिन् ती विवाह गरेको पुरुषहरुले पनि नेपालमा चाहिँ समानताको हिसाबले चाहिँ बसोबास गर्न पाउने हुनुपर्छ ।’

राजभण्डारीले अगाडि भने, ‘उनीहरुलाई जुन हाम्रो राष्ट्रिय परिचयपत्रको जुन प्रावधान छ त्यो प्रावधानबाट उनीहरुले पनि यहाँ चाहिँ रेसिडेन्स गर्ने एउटा परमिट पाउनु पर्छ । जस्तो बाहिर ग्रिनकार्डको कुरा गर्छौं , पीआरको कुरा गर्छौं काहिँ इन्भेष्टमेन्ट भिसाका कुरा गर्छौं भनेदेखिन् यो सबै तरिकाले नेपालमा पनि इक्वेल राइट दुवै पक्षले पाउनु पर्छ र त्यसरी बसेका ब्यक्तिहरुले अरु नागरिकसरह चहलपहल गर्न पाउने, काम गर्न पाउने व्यवस्था पनि हुनुपर्छ । जुन हाम्रा धेरै नागरिकहरु यहाँ कतिपय सांसदहरु हुनुहुन्छ, उहाँहरुका आफन्तहरु पनि संसारको विभिन्न कुनाहरुमा गएको छ र विदेशीसँग ब्याहा गरेको छ वा नेपाली ओरिजनहरुसँग चाहिँ सँगै ब्याह गरेर गएका व्यक्तिहरुले जुन तरिकाले अधिकार पाइरहेको छ विदेशमा नेपालमा पनि यो अधिकार प्राप्त हुनु बहुत जरुरी छ ।’

सांसद राजभण्डारीले थप स्पष्ट पार्दै भने, ‘त्यसकारण नेपालमा ब्याहा गरेर कसैले पनि दुई वर्षसम्म बसोबास गरेको कुनै पनि व्यक्ति छ भने तिनीहरुलाई यस्ता सहुलियत दिनुपर्ने बहुत जरुरी भएकोमा निवेदन गर्न चाहन्छु । किनभनेदेखि हामीले समानताको हिसाबमा र सबैलाई अधिकार दिने हिसाबले गर्नुपर्छ र खाली एक क्षेत्र र एक रुपको मात्रै बेनिफिट पुग्ने हिसाबले गर्नु हुँदैन । हामी सबैले नेपालीहरुसँग सम्बन्ध भएका सबैको अधिकारको निम्ति सुनिश्चित गर्न सक्ने हिसाबले यो विधेयकमा आउनु पर्छ भन्ने मेरो अनुरोध छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ