- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । जिल्लामा आजदेखि अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता शुरु गरिएको छ । निर्वाचन आयोगले कास्कीसहित देशका पाँच जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरेपछि प्रदेश निर्वाचन कार्यालय पोखराले अनलाइनमार्फत नामावली दर्ता शुरु भएको जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’ मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश गर्न सकिने प्रमुख निर्वाचन अधिकृत एवं कार्यालय प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
उनका अनुसार यसअघि कार्यालयमै उपस्थित भएर फाराम भर्ने र दर्ताको काम भइरहेकामा पछिल्लो समय नाम दर्ता गर्नेको भीड बढेसँगै मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्न निर्वाचन आयोगले अनलाइन दर्ताको सेवा दिएको हो ।
उनले भने, “मतदाता नामावली दर्ताका लागि भीडभाड भएका कार्यालयमा अनलाइनको व्यवस्था गरिएको हो । यसबाट लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ, काम छिटो सम्पन्न हुनेछ । हालसम्म नाम दर्ता नगरेका नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न सक्नुहुनेछ ।”
जुनसुकै ठाउँबाट पनि अनलाइनबाट आफ्नो विवरण पेश गरेपछि सो फाराममा उल्लेखित सङ्केत नम्बरसहितको प्रिन्ट कपीसहित फोटो खिच्न र औँठा छाप दिन कार्यालयमा उपस्थित हुनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले पहिलोपटक गत असार २९ गते राजधानी काठमाडौँ, ललितपुर र भक्तपुरमा अनलाइन दर्ता शुरु गरेको थियो । पछिल्लो पटक कास्कीसहित काभ्रेपलाञ्चोक, चितवन, मोरङ र झापा जिल्लामा सुरु गरिएको हो ।
यसैगरी जिल्लामा स्थानीय तहको निर्वाचनपछि १० हजार हाराहारीमा नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणापछि रोकिएको मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य असारदेखि पुनः शुरु गरिएकामा हालसम्म सो सङ्ख्यामा नाम नयाँ दर्ता भएको कार्यालय प्रमुख पराजुलीले बताए ।
आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति केही दिनमै घोषणा हुने चर्चाका बीच निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड बढेको छ । गाउँगाउँबाट सर्वसाधारण आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गर्नका लागि कार्यालयमा आउने गरेका छन् ।