arrow

पर्यटकको शान्ति-सुरक्षामा कुनै कमी हुँदैन : डीआईजी जोशी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
Ramdatta joshi.jpg

पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पोखरामा आउने पर्यटकलाई दिइने शान्ति र सुरक्षामा कुनै कमि हुन नदिइने बताएका छन् । होटल प्रतिनिधि समाज पोखराद्वारा जोशीको स्वागतमा आयोजित कार्यक्रममा डिआइजी जोशीले पोखरा आउने पर्यटक कतैबाट पनि असुरक्षित हुन नहुने र पोखरा सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए । 

होटल तथा पर्यटन व्यवसायीले पनि पर्यटकको ख्याल गर्नुपर्नेमा जोड दिंदै उनले पर्यटकको सुरक्षा सबैको कर्तव्य भएको स्पष्ट पारे । गण्डकीको शान्ति सुरक्षा सकेसम्म सपार्ने तथा नबिगार्ने भन्दै डिआइजी जोशीले आफू गफ मात्रै गरेर नबस्ने स्पष्ट पारे । 

पर्यटकका लागि गैरकानूनी मनोरञ्जन गराउन खोजिए व्यवसायी र प्रहरीको सम्बन्ध बिग्रिन सक्ने उनले चेतावनीसमेत दिए । पोखरालाई पोखरा जस्तै बनाउन सबैको भूमिका महत्वपूर्ण हुने भन्दै उनले पोखरालाई सभ्य, भव्य र राम्रो शहर बनाउन सबैको सहयोग आवश्यक भएको बताए । 

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखराको लेकसाइडको सुरक्षाका सम्बन्धमा सुरक्षा निकायसंग छलफल गरिने बताए । उनले होटल प्रतिनिधि समाजले निकै उत्कृष्ट कार्य गर्दै आएको भन्दै उनले समाजलाई पोखरा पर्यटन परिषदमा आवद्ध गराउन आफूले पहल गरिरहेको स्पष्ट पारे । 

पश्चिमाञ्चल होटद संघका अध्यक्ष लक्ष्मण सुबेदीले पर्यटन क्षेत्रमा सुरक्षा अमन चयन गर्न सुरक्षा निकायसंग सहकार्य गर्न आफूहरु तैयार रहेको बताए । उनले पर्यटकमाथि कसैले पनि अभद्र व्यवहार गर्न नहुने र यसतर्फ सबैको ध्याना पुग्न आवश्यक रहेको बताए । होटल प्रतिनिधि समाज होटल संघको अभिन्न अंग भएको उल्लेख गर्दै उनले समाजले निकै रचनात्मक काम गरेकोमा समाजको प्रशंसा गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष काफ्लेले नागरिक बर्दी बिनाको प्रहरी भएको भन्दै सुरक्षा निकायसंग सहकार्य गर्न समाज तयार रहेको स्पष्ट पारे । पर्यटन क्षेत्रको प्रमुख चुनौति शान्ति र सुरक्षा भएको  भन्दै यसतर्फ ध्यान दिन डिआइजी जोशीको ध्यानाकर्षण गराए ।

समाजका अध्यक्ष सन्तोष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव माधव लम्सालले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ