arrow

विदेशीहरू आफ्नो स्वार्थको निम्ति नेपालको साधन श्रोत प्रयोग गर्न चाहन्छन् : नेपाल

एसपीपी अस्वीकार गर्ने मन्त्रीपरिषद्को निर्णय अमेरिकालाई नपठाइएकोमा असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
madhav-kumar-nepal-ncp-united.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशीहरू आफ्नो स्वार्थको निम्ति नेपालको साधन श्रोत प्रयोग गर्न चाहेको बताएका छन् । राजधानीको एक कार्यक्रममा परराष्ट्र नीति सञ्चालन गर्ने संयन्त्रमा कुशलताको कमी हुने गरेकाले कहिलेकाहीँ विदेशीले हस्तक्षेप गर्ने गरेको नेपालले बताएका छन् ।

उनले भने,' आजसम्म पनि नेपालीहरूले भनिरहेका छन्, विदेशीहरू आफ्नो स्वार्थको निम्ति नेपालको साधन श्रोत प्रयोग गर्न चाहन्छन् । चाहे त्यो कोसी सम्झौता होस्, चाही गण्डक सम्झौता, १९५०को सन्धि होस् वा अरू कुनै सम्झौता । सिमाना समस्या होस् वा अरू कुनै व्यापारसम्बन्धी सम्झौता होस् ।' 

उनले नेपालले सबैसँग मित्रता चाहने तर कसैसँग शत्रुता नचाहने भन्दै नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गरे त्यो नेपाली जनतालाई सैय नहुने बताए । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्दछन् भने त्यो नेपाली जनताले सहँदैनन् । नेपाललाई अनुचित सम्झौतामा कसैले फसाउन खोज्दछ भने त्यो नेपाली जनतालाई सैय हुने छैन । 

नेपालले नेपाली कांग्रेस र नेकपा एमालेले यथास्थितिमा एमसीसी सम्झौता पारित गराउन खोजे पनि आफूहरूले रोकेको बताए। नेपालले एमसीसी सम्झौतालाई आर्थिक सम्झौताबाहेक अरू विषय अमान्य हुने गरी व्याख्यात्मक घोषणामार्फत सांसदबाट पारित गराउन आफूहरूले भूमिका खेलेको नेपालको दाबी छ । 

दुई पार्टीले मिलेर एमसीसी पारित गराउन खोजेको र त्यसमा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न सर्त राखेको नेपालले बताए । त्यस बेला एमालेले सभामुखलाई हटाउनुपर्ने, नेकपा एकीकृत समाजवादी पार्टीका १४ जना सांसदको पद खारेज गर्नुपर्ने र उक्त पार्टीको दर्ता खारेज गर्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाभियोग हटाउनुपर्ने लगायतका सर्त राखेको नेपालको दाबी छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको सर्त अस्वीकार गरेर आफूहरूले भनेजस्तो गरी व्याख्यात्मक घोषणामा सहमति जनाएको नेपालले बताए । तर एमसीसी सम्झौता पास गर्ने क्रममा भएको व्याख्यात्मक घोषणा नेपाली जनताको भावनाअनुसार रहेको नेपालको भनाई छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग स्वीकृत लिएर नेपाली सेनाले एसपीपी लागु गर्ने भनी पत्र पठाउनु गलत भएको नेपालले बताए । एसपीपी अस्वीकार गर्ने मन्त्रीपरिषद्को निर्णय अमेरिकालाई नपठाइएकोमा नेपालले असन्तुष्टि जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ