arrow

सुदूरपश्चिममा बढ्यो संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
gaurifanta-kailali.gif

सुदूरपश्चिम । कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको संक्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । संक्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकमजोरी र संक्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको संक्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । 

कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र संक्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा संक्रमण बढेको बताए । 

मास्क लगाएर संक्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेशनमा पठाउने गरिएको छ । 

“हेल्थ डेस्कमा नमूना परीक्षणबाट कोरोना पोजेटिभ देखिने बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेशनमा बस्नुपर्ने सल्लाह दिन्छौँ,” अहेब साउदले भने, “पोजेटिभ बिरामीको उपचार व्यवस्थापनका साथै संक्रमण थप फैलिन नदिन सम्बन्धित पालिकाले चासो नलिँदा पनि रोकथाम हुन सकिरहेको छैन ।” 

धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेशन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए । उहाँले भने, “एक दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ ।”  

सुदूरपश्चिम प्रदेशमा सोमवार एकै दिन १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । 

आइतबारसम्म १३ जना सक्रिय बिरामी (एक्टिभ केस) रहेकामा आज एकै दिनमा यो सङ्ख्या बढेर २३ पुगेको छ । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० संक्रमित पुगेका छन् । 

कोरोना भाइरसको आशङ्कामा आइतबार २२३ र आज ४१४ जनाको स्वास्थ्यको नमूना परीक्षण गरिएको थियो । गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । संक्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला दिनमा पुनः बढ्न थालेको छ ।

छिमेकी देश भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशका विभिन्न सीमानाकाबाट आइतबार २८२ र सोमबार ३७७ जना नेपाल भित्रिएका छन् । सीमानाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको एन्टिजेन विधिबाट स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ