arrow

कोरोना प्रभावित विपन्न परिवारका लागि आएको बजेट ‘फ्रिज’

३१ लाख ६० हजार रकम केन्द्रमै फिर्ता

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ साउन १० मंगलबार
nagar-karyapalikako-karyalaya-khalanga-darchula.jpg

दार्चुला । कोरोना प्रभावित अति विपन्न परिवारका लागि महाकाली नगरपालिकामा केन्द्र सरकारबाट आएको बजेट फिर्ता भएको छ । केन्द्र सरकारले गत कात्तिकमा स्थानीय तहमा पठाएको रकम वितरण हुन नसक्दा फिर्ता भएको हो ।

कोरोना संक्रमणका कारण देशभर लकडाउन हुदाँ गरिब, विपन्नहरुको सहजताका लागि सरकारले १० हजारका दरले राहत दिने घोषणा गरेको थियो । सरकारले कोभिडबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८, राजपत्रमै प्रकाशित गरी त्यसअनुसार राहत उपलब्ध गराइदिनू भनी पालिकालाई सूचनासमेत जारी गर्यो । 

सोही अनुसार सबै स्थानीय तहमा बजेट पनि पठायो । तर जिल्लाको महाकाली नगरपालिकाले भने त्यो रकम वितरण गर्न सकेन ।नगरपालिकाले असार १९ गते ३१६ जना कोरोना प्रभावित अतिविपन्नको नामावली सार्वजनिक गर्दै ३ दिनभित्र मापदण्ड विपरीत भए दाबी विरोध गर्न सूचित गर्यो ।

जसको समयावधि २२ असार कायम भयो । तर रकम हस्तान्तरण हुन सकेन । ९ वटै वडाबाट सिफारिस भइ आएका कूल ३१६ जना गरिब–विपन्न राहत पाउनबाट बन्चित भए । 

३१६ जनाको हुन आउने ३१ लाख ६० हजार रुपैयाँ वितरण नभई फिर्ता भएको हो । राहत पाउने आशमा बसेका विपन्न सर्वसाधारण रकम फिर्ता पठाएको जानकारी पाएपछि असन्तुष्ट छन् । 

असार २४ गते बसेको नगरकार्यपालिका बैठकले नामावलीमाथि आवश्यक छानबिन गरी वितरण गर्ने निर्णय गरेको तथा अन्तिम समयमा रकम वितरण गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । 

असार २५ गतेभित्र क्लोजिङ रहेकाले पनि प्रक्रियामा जाँदाजाँदै समय अभाव भएको उनको भनाइ छ । साथै उनले फिर्ता भएको रकमबारे केही दिनपछि निवेदन र फाइलसहित मन्त्रालय गइ माग गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ