arrow

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट एक महिनामै १४ हजार बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
Nobel-Ambulance-Camp-(1).jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं ३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजारभन्दा बढी बिरामीको निःशुल्क उपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, बयरवन, विराटचोक र सुन्दरहरैंचाका विभिन्न वडा तथा टोलहरुका १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

नोबेल अस्पतालका सञ्चालक एवं समाजसेवी डा सुनिल शर्माले सो क्षेत्रका नागरिकको निःशुल्क उपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका हुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४३० जनाको मुटुको जाँच (ईसीजी), २७६८ जनाको रगत परीक्षण र २३३० जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ । 

दाँतमा समस्या भएका ७४३ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ८३७२ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ४६२ जनाको शल्यक्रियासमेत भएको छ ।

मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवा प्रदान गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालन गर्न थालेको हो । 

जस अन्तर्गत शनिवारबाहेका हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र ईसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुने बिरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । बिरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइदिएको छ ।

यता वयरवन र विराटचौकमा छ्ट्टै शिविर सञ्चालन गरेर १४२ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ । अब बेलबारी र पथरी शनिश्चरेका जेष्ठ नागरिकको पनि मुटु तथा फोक्सो रोगको उपचार गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ