arrow

निलगिरी ‘क्यासकेड’ को सुरुङ जोडियो

logo
रासस
प्रकाशित २०७९ साउन १३ शुक्रबार
surung bidhut.JPG

म्याग्दी । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर प्रवर्द्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो । आयोजनाका इञ्जिनीयर केशव बाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिए । 

नारच्याङको दोभानस्थित विद्युतगृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ । ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवर्द्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए । 

“ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ”, उनले भने, “बाँध र विद्युतगृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तीव्रता दिएका छौँ ।” अठतीस दशमलव सात मेगावाटको निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । दुई वटै आयोजनाको प्रवर्द्धक एउटै निलगिरी हाइड्रोपावर हो । 

निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण थालिएका इञ्जिनीयर वाग्लेले बताए । क्यासकेडको विद्युतगृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ ।

१३ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा-दोबिल्ना हुँदै दाना सवस्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ