arrow

तनहुँमा नमूना पशु अस्पताल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
animal hospital.jpg

तनहुँ । नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । 

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी सो अस्पताल इको विल्डर्स प्रालि चितवनले निर्माणको जिम्मा पाएको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाख लागतमा भ्याटबाहेक उक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । 

आगामी पुसभित्र सम्पन्न गर्ने गरी थालिएको उक्त भवनको करिब ४० प्रतिशत काम पूरा भएको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यन्वयन एकाइ कास्कीका साइड इञ्जीनियर शिव सुनारले जानकारी दिए ।

साढे दुई तलाको ढलान निर्माण गरिने उक्त भवनको हालसम्म दोस्रो तलाको ढलान सम्पन्न गरिएको छ । करिब छ सय पाँच स्क्वायर मिटर क्षेत्रफलमा दुई ब्लकमा विभाजन गरी भवन निर्माण भइरहेको छ । बीचमा केही समय सामान अभावका कारण निर्माण रोकिए पनि अहिले रफ्तारमा काम भइरहेको इञ्जीनियर सुनारले बताए । हाल भवन निर्माणमा दैनिक १५ जना जनशक्ति परिचालन गरिएको छ ।

भवनको भुइँ तलामा पशुपक्षीका एक्सरे, भिडियो एक्सरे, ल्याब, शव परीक्षणलगायत सेवाकक्ष र प्रविधिक जनशक्ति रहनेछन् भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हल रहने छ ।

पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताए । इक्युपमेन्ट, औजार अभावमा पशुपक्षीको हचुवाका भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । नमूना पशु अस्पताल तनहुँका लागि मात्रै नभई आसपासका गोरखा, लमजुङ र नवलपरासीका किसानका लागि प्रत्यक्ष फाइदा पुग्ने उनले जानकारी दिए ।

बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ । नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माणका लागि प्राथामिकतामा परेका हुन् । पशुधनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्रविन्दुमा राखिएको डा श्रेष्ठले बताए ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । “नदेखिने जुका, माटेजस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुँदैन”, उनले भने, “रोग पहिचान गरी समयमा औषधोपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।”



नयाँ