arrow

सुदूरपश्चिममा दोब्बरले बढ्यो संक्रमण, सीमाक्षेत्रमा कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
corona-virus-covid-19.jpg

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ  । पहिलो  साता ५६ जनामा संक्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । 

दुई हप्ता अगाडि  शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, “पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।”

सीमा क्षेत्रमा जोखिम बढेकाले  यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार  सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।  संक्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ