arrow

अमेरिकी सभामुख एसिया भ्रमणमा, ताइवान जानेमा शंका, चिनियाँ चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
nancy-pelosi.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी आइतबारदेखि एसियाको भ्रमणमा रहने भएकी छिन् । आइतबार उनको कार्यालयले एक प्रेस रिलिज जारी गर्दै यस्तो जानकारी दिएको हो ।

उक्त प्रेस रिलिजमा उल्लेख भए अनुसार सभामुख पेलोसीले सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित इन्डो प्यासिफिक क्षेत्रको भ्रमणमा निस्किएको संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी छिन् ।

'भ्रमण इन्डो-प्यासिफिक क्षेत्रमा पारस्परिक सुरक्षा, आर्थिक साझेदारी र लोकतान्त्रिक शासनमा केन्द्रित हुनेछ,' प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

चिनियाँ चेतावनीले पेलाेसीकाे भ्रमणबारे अमेरिकामा चिन्ता

पेलोसीले ताइवानको भ्रमण गर्ने कुरा आइरहेको भए पनि आधिकारिक रुपमा भने ताइवान भ्रमणको विषय उल्लेख गरिएको छैन ।

एक चीन नीतिमा प्रतिबद्ध रहन र आफ्नो कथित हिस्सा मान्ने ताइवानको भ्रमणले बल प्रयोगसहितको प्रतिक्रिया ल्याउनसक्ने भन्दै चीनले खुलारुपमा अमेरिकालाई चेतावनीसमेत दिएको छ ।

गत बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानको विषयमा आगोसँग नखेल्न भन्दै चेतावनी दिएका थिए ।

यसबीच यसअघि नै पेलोसीले ताइवानको भ्रमण गर्ने योजनाबारे कुरा चलिरहेको भए पनि अहिले अमेरिकाले आधिकारीक रुपमा यसबारे कुनै जानकारी दिएको छैन । ताइवानबाट समेत पेलोसीको भ्रमणलाई लिएर कुनै आधिकारीक भनाइ नआएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी सभामुख ताइवान आए कडा प्रतिक्रिया दिने चिनियाँ चेतावनी

पेलोसीले ताइवानको भ्रमण गर्नसक्ने बिषयलाई लिएर सजग बनेको चीनले सैन्य अभ्याससमेत गरेको छ । ताइवानको विषयलाई लिएर वासिंगटन र बेइजिङबीच पछिल्ला दिनहरुमा झनै तनाव बढेको छ ।

पेलोसीको कार्यालयद्वारा जारी विज्ञप्तीमा अघि भनिएको छ, 'सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा हाम्रो प्रतिनिधिमण्डलले शान्ति र सुरक्षा, आर्थिक वृद्धि र व्यापार, कोभिड–१९ महामारी, जलवायुलगायत हाम्रा साझा हित र मूल्यमान्यतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न उच्चस्तरीय बैठक गर्नेछन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ