arrow

पेट्रोल-डिजेलमा अझै घाटा, निगमले कर्पोरेशनलाई २२ अर्ब बढी तिर्न बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा भइरहेको विवरण प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई जानकारी गराएको छ ।  निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले इन्धन आपूर्तिको हालको अवस्था बारेमा समितिमा जानकारी गराएका हुन् । 

आजको दिनसम्म पेट्रोल प्रतिलिटर रु १८१ र डिजेल रु १७२ मा बिक्री भइरहेको छ । उनका अनुसार खरिद लागत (इण्डियन आयल कर्पोरेशनबाट आएको मूल्य र नेपाल सरकारको करसहित) पेट्रोलमा रु १९५ रुपैयाँ १९ पैसा र डिजेलमा रु १९३ रुपैयाँ ९२ पैसा छ । 

हालको बिक्री मूल्यलाई हेर्दा पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा रु ५८२ रुपैयाँ ४२ पैसा घाटाको व्यापार भइरहेको छ । कार्यकारी निर्देशक थानीले अहिले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ ३६ पैसा र डिजेलमा ४७ रुपैयाँ ३ पैसा र ग्यासमा रु ३११ रुपैयाँ ७४ पैसा सरकारको कर रहेको रहेको जानकारी दिए ।  

हालको बिक्री मूल्य हिसाब गर्दा निगमलाई मासिक रु चार अर्ब ३२ करोड घाटा भइरहेको उनले जानकारी दिए । निगमले आव २०७८/०७९ को असार मसान्तसम्म नेपाल सरकारलाई रु एक खर्ब २० अर्ब छ करोड कर बुझाएको छ । पेट्रोलियम पदार्थको आयात पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए । आव २०७७/०७८ मा रु एक खर्ब ५८ अर्बको इन्धन ल्याइएकोमा आव २०७८/०७९ मा रु तीन खर्ब १० अर्बको आयात भएको जनाइएको छ ।   

नेपाल सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बापत रु सात अर्ब ३५ करोड फिर्ता पाउनुपर्नेमा रु दुई अर्ब ७५ करोड मात्रै फिर्ता भएको पनि उनले जानकारी दिए । आव २०७८/०७९ को असार मसान्तसम्ममा निगमलाई करिब करिब ५० अर्ब घाटा हुने देखिएको उनले समितिलाई जानकारी दिनुभएको छ । निगमले हाल इण्डियन आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी छ । रु ३१ अर्ब रहेकोमा ऋण लिएर अरू रकम घटाएको हो । 

निगमले नेपाल सरकारबाट गत असार ३१ गते पाँच प्रतिशत ब्याजदरमा रु सात अर्ब ऋण लिएको छ । उक्त ऋण पाँच वर्षका लागि लिइएको हो । निगमको टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैङ्कबाट नौ प्रतिशत ब्याज तिर्ने गरी तीन अर्ब रुपैयाँ ऋण लिइएको समितिमा जानकारी गराइएको थियो । उक्त ऋण तीन महिनाका लागि हो ।  

अन्तर्राष्ट्रिय बजारमा १७ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा साढे १५ रुपैयाँ र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको थियो । त्यस बेला पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ घाटा रहेकामा अहिले घटेर आउँदा पनि पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा घाटा रहेकाले  मूल्य समायोजन गर्न नसकिएको पनि जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ