arrow

पेलोसी जान खोज्दा ताइवानमा चिनियाँ लडाकु विमानको घेरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
Nancy-Pelosi-china-taiwan.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवानको भ्रमणका लागि ताइपेईमा उत्रिने अनुमान गरिएकाबीच ताइवानमा स्ट्रेटमा स्थिती बिग्रिन थालेको छ ।

चीनले पेलोसीको ताइवान भ्रमणलाई लिएर चेतावनी दिइरहेको छ भने यसबीच ताइवान स्ट्रेटलाई विभाजित गर्ने मध्य रेखाको नजिक थुप्रै चिनियाँ लडाकु विमानहरुले उडान भरेका छन् ।

चीनले आफ्नै हिस्सा मान्दै आएको ताइवानमा उच्च स्तरीय सभामुख पेलोसीको भ्रमण नगर्न चेतावनी दिए पनि अमेरिकाले सोमबार चिनियाँ 'साब्रे रैटलिङ' (सैन्य बल प्रदर्शन) बाट नडराउने टिप्पणी गरेको छ ।

मंगलबार बिहान संवेदनशील जलमार्गको मध्य रेखा नजिकै उडान गर्ने चिनियाँ विमानहरू बाहेक धेरै चिनियाँ युद्धपोतहरू सोमबारदेखि नै चीन र ताइवानलाई छुट्याउने अनौपचारिक विभाजन रेखा नजिक तैनाथ रहेको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

चिनियाँ युद्धपोत र विमान दुबैले मंगलबार बिहान मध्य रेखालाई पार गरेको र यो एक असामान्य कदम भएको बताइएको छ ।

चिनियाँ विमानले मंगलबार बारम्बार मध्य रेखालाई छुने र स्ट्रेटको अर्को छेउमा फिर्ता घुम्ने किसिमका रणनीतिक उडानहरु गरेको थियो । यसबीच ताइवानको विमान नजिकै स्ट्यान्डबाइमा थियो। कुनै पनि पक्षको विमानले सामान्यतया मध्य रेखा पार गर्दैन।

ताइवानको रक्षा मन्त्रालयले मंगलबार बिहानदेखि बिहीबार दिउँसोसम्म आफ्नो लडाई सतर्कता स्तरलाई सुदृढ पारेको टापुको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै मंगलबार रिपोर्ट गरेको छ ।

सीएनएले ताइवानको सशस्त्र सेनाको सतर्कता स्तरलाई शान्ति समय र युद्धको समयमा वर्गीकरण गरिएको र अहिलेको स्तर शान्तिको समयमा भए पनि स्थिती अनुसार उपयुक्त रूपमा समायोजन गरिने जनाएको छ ।

स्रोतका अनुसार पेलोसी मंगलबार राति ताइवान पुग्ने र राष्ट्रपति साई इंग वेनलाई भेट्नेलगायत उनका प्रमुख कार्यक्रम बुधबारका लागि तय गरिएको छ । उनको प्रतिनिधिमण्डल बुधबार ताइवान आइपुग्ने बताइएको छ ।

अमेरिका-चीन टकराव: सभामुख पेलोसीले ताइवान भ्रमण गर्दै

तर, ताइवानको अखबार लिबर्टी टाइम्सले पेलोसीको प्रतिनिधिमण्डल मंगलबार राति १० बजेर २० मिनेटमा आइपुग्ने बताएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले पेलोसीको ताइवान भ्रमणको कुरा ननकिाले पनि भ्रमण भएमा बेइजिङको प्रतिक्रियामा ताइवान नजिक क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई र नौसैनिक गतिविधि  प्रदर्शन गर्ने वा ताइवान स्ट्रेट अन्तर्राष्ट्रिय जलमार्ग होइन भन्ने दाबी गर्ने जस्ता कुराहरु हुनसक्ने बताएका छन् ।

उनले भनेका छन्,'हामी प्रलोभन लिने छैनौं वा साबर रैटलिङमा संलग्न हुनेछैनौं रसँगै हामी डराउने छैनौं,' किर्बीले भनेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित दैनिक ब्रीफिङमा पेलोसीले ताइवानको भ्रमण गरेमा यो 'चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप' हुनेछ र 'चिनियाँ जनमुक्ति सेना कहिल्यै चुपचाप बस्ने छैन' भनी चेतावनी दिएका छन्।

पीएलएले कस्तो प्रकारका उपायहरू लिन सक्छ भनेर सोध्दा, झाओले भनेका छन्, 'यदि उनी जाने हिम्मत गर्छिन् भने, हामी पर्खौं र हेरौं।'

ताइवानको बिषयलाई लिएर र अहिले खासगरी पेलोसीको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ