arrow

अविरल वर्षापछिको पहिरोले राजमार्गहरुसहित मुलुकका दर्जनौं सडकखण्ड अवरुद्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
diuban-gaidakot.jpg

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी मुलुकका मूल्य राजमार्गहरु बन्द हुँदै र खुल्दै आएका छन् । अविरल वर्षासगैँ  खसेको  पहिरोले  पृथ्वी राजमार्ग अवरुद्ध भएको  छ ।  प्रहरीका अनुसार बिहान ८ः५० बजे पृथ्वी राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै  माथिबाट   पहिरो झरेर   सडक दुइतर्फी अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन  पहल गरिरहेको  चितवन जिल्ला  प्रहरी कार्यालयका  प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

त्यस्तै अविरल वर्षाका कारण त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बागझोरामा आएको बाढीका कारण सडक यातायात सेवा अवरुद्ध बन्न पुगको छ ।  

बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि सङ्घीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन् ।

 बागझोरासँगै भैँसेदेखि भीमफेदीसम्मको सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको र बाढी कम हुने वित्तिकै यातायात सेवा पुनः चालु गराइनेछ ।

हाल यातायात सेवा अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ मात्रै नभइ दामन,पालुङ, सिखरकोट र मार्खुसम्मका सवारी साधनलाई असर पुगेको छ । मकवानपुरमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ ।

त्यस्तै पहिरोका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडक रोकिएको छ । नवलपुर हुँदै पोखरा तथा काठमाडौँ जाने सवारीसाधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएपछि जिल्लामा नै सवारीसाधन रोकिएको बताए ।  

“नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ”, उनले भने, “चितवनतर्फ सवारीसाधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारीसाधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौँ ।”

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्नेबाहेकका सवारीसाधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए । 

आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । 

त्यस्तै डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ । 

वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उनको भनाइ छ ।

 विगतमा ठूलो पहिरा गएकाले सोही पहिरा हुँदै लेदो आउदा पटक–पटक समस्या भइरहेको छ । सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ । 

गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ । 

त्यस्तै सोमबार बिहानदेखि नै हालसम्मै बेँसीसहर चामे सडकसमेत अवरुद्ध कायम रहेको छ । यस सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ र मनाङको चामे गाउँपालिकास्थित कोत्रेमा गएको पहिराको कारण सडक अवरुद्ध भए पनि कोत्रेमा भने सोमबारबाटै सवारी सञ्चालन हुँदै आएको थियो । 

कोत्रेमा २० मिटर सडक बगाएको थियो भने रामबजार नजिकै ढुङ्गा माटाको पहिराले सडक अवरुद्ध बनाएको थियो । सूचना अधिकारी एवं इञ्जीनियर अधिकारीले भन्नुभयो, “रामबजार नजिकको पहिरो हटाउने कार्य भइरहेको र आज १० बजेतिरबाट सडक सञ्चालन हुन सक्नेछ ।” हाल पानी परिरहेको र फेरि पनि पहिरो आएमा भने थप समस्या हुने बताइएको छ । 

त्यस्तै अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ । पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसिबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए । पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने प्रमुख उनको भनाइ छ । 

पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवातजावतमा समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ