- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उदयपुरको बेलका नगरपालिका-१, २, ८ र ९ मा सप्तकोशी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।
सप्तकोशीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
गृहमन्त्री खाँणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनसँग छलफल गरिएको हो ।
गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
मन्त्री खाँणले त्यसका लागि के-के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिनुुभएको छ । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।
विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाँणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ ।
कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् । रासस