arrow

जनता विद्यालयलाई बास्कोटा प्रतिष्ठानले दियो टेबुल–कुर्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
help-school-janata-vidyalaya.jpg

पथरी । आमा इन्द्रमाया र बुबा कमलप्रसाद बास्कोटाको नाममा गठित इन्द्र–कमल बास्कोटा प्रतिष्ठानले एक विद्यालयलाई टेबुल कुर्सी सहयोग गरेको छ । प्रतिष्ठानका सल्लाहकार एवम् इन्द्र–कमलका जेठा छोरा लीलानाथ बास्कोटाले आज पथरी शनिश्चरे नगरपालिका वडा नं ५, सुन्दरीचौकमा रहेको श्री जनता आधारभूत विद्यालयको प्रशासनिक कार्यकक्षलाई दुर्इवटा टेबुल र १५ वटा कुर्सी सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । 

विगत ४ वर्षयता सपरिवार अमेरिकाको ओहायो शहर बस्दै आएका सहयोगी लीलानाथ बास्कोटाको तर्फबाट उनका भाइ युवराज बास्कोटाले उक्त सामग्री विद्यालय परिसरमा पुगेर विद्यालयका प्राचार्य बलबहादुर धिमाललाई हस्तान्तरण गरेका हुन् । 

‘एक्ला आमा–बुबाका हामी ७ जना सन्तानमध्ये भाइ कान्छो प्रेमसागर र बहिनी तुलसा बास्कोटाको कखराकालको पठनपाठनस्थल रहेको यो विद्यालयको विद्यमान कमजोर अवस्थालाई अलिकति भए पनि उकास्न परिवारको तर्फबाट दाजु लीलानाथ बास्कोटाले यो खालको सहयोग गर्नुभएको हो’, प्रतिष्ठानका सल्लाहकार एवम् परिवारका माइला सदस्य युवराज बास्कोटाले बताए । 

उनले सामाजिक कार्यसम्पादनका दृष्टिकोणले पनि यो विद्यालयले विगतमा समाजको विश्वास जितेको, सयौं होनहार क्षमतावान विद्यार्थी जन्माएको र मेधावी छात्रछात्राको खानीको रूपमा उभिएको बताए । 

‘विद्यालयको खाँचोपूर्तिका दृष्टिकोणले पनि यो साह्रै आवश्यक थियो, मेरो सहपाठी लीलानाथ बास्कोटाको सहयोगमा आज पूरा भयो’, सामग्री ग्रहण गर्दै प्राचार्य धिमालले भने । 

बास्कोटा परिवारका २ जना उत्तराधिकारीलाई आफूहरूले पढाउन पाएकोमा खुशी व्यक्त गर्दै आफूहरू पढेको बढेको विद्यालयप्रति परिवारजनको यो लगाव निकै सराहनीय र अनुकरणीय रहेको धिमालले बताए । 

समाजसेवी पुण्यप्रसाद खतिवडाले उपलब्ध गराएको ५ कठ्ठा क्षेत्र ओगटेको विद्यालयमा यतिबेला ७२ जना विद्यार्थी, ३ जना दरबन्दी शिक्षकशिक्षिका, ४ जना विभिन्न स्रोतबाट परिचालित शिक्षकशिक्षिका कार्यरत छन् । 

प्रतिष्ठानले श्रद्धेय आमा–बुबाको सम्मानमा नगरपालिका कार्यक्षेत्रभित्र कहिले विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने, सहयोगी साधनस्रोत उपलब्ध गराउने र प्रायः हिउँदमा लक्षित समुदायका छोराछोरीलाई न्यानो कपडा, स्वेटर, जुत्तामोजा आदि वितरण गर्ने कार्य गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ