arrow

कांग्रेस गठबन्धन आवश्यक भएको सांसद राजभण्डारीको जिकिर, संसदमा अड्किएका विधेयक तत्काल पास गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
divyamani-rajbhandari2.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिव्यमणी राजभण्डारीले आसन्न निर्वाचनमा नेपाली कांग्रेस लगायतका दलहरुबीच गठबन्धन राष्ट्रको आवश्यकता भएको औंल्याएका छन् । प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धनलाई अप्राकृतिक भनिरहेका बेला उनले उक्त भनाइलाई इन्कार गरे ।
 
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा गठबन्धन सफल भएको उल्लेख गर्दै नेता राजभण्डारीले सैद्धान्तिक कुराहरु जायज भएको बताए । इजरेलमा बहुसंख्यक दलहरु मिलेर सरकार बनाएको उदाहरण दिँदै उनले नेपालमा गठबन्धन आवश्यक भएको बताए ।

उनले भने, ‘विगतमा कम्युनिष्ट पार्टीहरु मिलेर सरकार बनाए पनि सफल भएनन् । तर कांग्रेसलगायत पाँच दलबीच भएको गठबन्धन सफल भयो । चुनाव गराएर नयाँ रेकर्ड राख्यो । त्यसैले अब पनि गठबन्धन राष्ट्रिय आवश्यकता हो ।’

संसदमा धेरै विधेयकहरु पास हुन नसकिरहेको बेला चुनावअघि ती विधेयकहरु पास गर्नुपर्ने उनको भनाइ थियो । ‘एमालेले आठ महिनासम्म संसद अवरुद्ध गर्दा हामीहरुले भत्ता खाने, हल्ला गर्ने र बस्ने काम मात्र भयो । बजेटको काम सकिएपछि अध्यादेशबाट आएका विधेयकहरु पास भएका छन् । यो सकारात्मक कुरा हो । पुराना विधेयक सबैले डाइजेष्ट नगरेकाले र पुराना सरकारले हाउसमा ल्याएका विधेयकहरुमाथि विपक्षी दलहरुले फरक किसिमले प्रस्ताव ल्याएकाले वा संशोधन अर्कै प्रकारले राखे । सरकारले आफ्नै तरिकाले राख्यो । जसका कारण विवाद भयो । सरकारले फेरि विधेयक फिर्ता गर्ने र नयाँ ल्याउने काम गर्यो । ती विधेयकहरु पास हुने चरणमा छन्’, उनले भने ।

राजभण्डारीले अगाडि भने ,‘विशेष गरी ३० वटा विधेयक अड्किएर बसेका छन् । त्यसमाथि छलफल गर्नुपर्छ । केही पास हुने चरणमा छन् । अप्पर हाउसबाट लोअर हाउसमा आएका विधेयकहरु केही बाहेक अन्य पास हुने चरणमा गइसकेका छन् ।’

प्रधानमन्त्रीसँग सम्बन्धित रहेका केही विधेयकहरु पास हुने प्रक्रियामा गइसकेको जानकारी दिंदै राजभण्डारीले यतिबेला मन्त्री र सांसदहरु सक्रिय भइ चाँडो बैठक राखेर विधेयक पास गर्ने वातावरण बनाउनुपर्ने बताए । फाष्ट ट्रयाकबाट भए पनि विधेयकहरु पास हुनुपर्ने उनको सुझाव छ । 

राष्ट्रिय सभा भन्दा प्रतिनिधि सभाको काम ढिला भएको उल्लेख गर्दै उनले आर्थिकसँग सम्बन्धित विधेयकहरु चाँडो पास गर्नुपर्ने बताए । ‘कुनै विधेयकहरु संसदमा पेस भएका छन् तर छलफल भएको छैन । कुनै समितिमा छलफल भइरहेका छन् । यी विधेयकहरु पास गर्न दिनमा तीन चार पटकसम्म संसद बसाएर छलफल गरिनुपर्छ । विशेषगरी आर्थिकसँग सम्बन्धित विधेयकहरु पहिले पास हुनुपर्छ । नेपाल मिडिया काउन्सिल विधेयकलगायत तीनवटा विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएर तल आइसकेकाले चाँडो पास हुनुपर्छ’, उनले भने । 

जनतासँग सरोकार भएका विधेयक साथै आर्थिकसँग सम्बन्धित १३ वटा विधेयक पास गर्न ढिला गर्न नहुने उनको भनाइ थियो । मुलुक संघीय संरचनामा गइसके पनि प्रदेश सरकारलाई अधिकार दिन नसक्नु दुर्भाग्य भएको उल्लेख गर्दै राजभण्डारीले दुई सरकारबीच झगडा हुने क्रम विश्वमै रहेकाले नेपालमा यस्तो समस्या विस्तारै समाधान भएर जाने पनि बताए । 

प्रदेशलाई अधिकार दिने सवालमा केन्द्रीय सरकार बढी जिम्मेवार हुने उनको भनाइ थियो । संसद र आफू कार्यरत समितिमा बसेर आफूले सक्रिय भूमिका निर्वाह गरेको जानकारी दिंदै सांसद राजभण्डारीले विधेयकहरु अघि बढाउने सवालमा सरकार बढी जिम्मेवार रहने पनि उल्लेख गरे । 

प्रतिपक्ष दल एमालेले सरकारमा रहँदा धेरै विधेयक ल्याएको तर वर्तमान सरकारले त्यसलाई अघि नबढाएको भनेर प्रतिपक्षले आसन्न चुनावमा मुद्दा बनाउन सक्ने भएकाले सरकार बढी संवेदनशील हुनुपर्ने उनले बताए ।

नेपालको परिप्रेक्ष्यमा समानुपातिक सांसद अति आवश्यक रहेको भए पनि कसैलाई फाइदा दिलाउन वा पुरस्कृत गर्न मात्र सीमित राख्नु नहुने उनले बताए । समानुपातिक सांसदहरुले उल्लेख्य भूमिका निर्वाह गरेको पनि उनले दाबी गरे । ।

 ‘कुनै सेक्टरमा ज्ञान भएका, पूर्ण रुपमा संसदमा समय दिन सक्ने र देशलाई विधि, विधान साथै कानूनी रुपमा अघि बढाउन सक्ने व्यक्तिहरु समानुपातिकमा ल्याइनुपर्छ’, उनले भने ।

व्यापारी वा उद्योगीहरु जो समानुपातिक सांसद भएका छन् उनीहरुले अरु पदको लाभ लिन नहुने उनको जिकिर छ । उनले भने, ‘समानुपातिकको बिल्ला भिरेर मन्त्रालयमा जाने र व्यापारको गफ गर्ने होइन साथै रातो पासपोर्ट बोकेर हिँड्ने मात्र काम बन्द गर्नुपर्छ । उद्योगी व्यापारीले मात्र होइन एनजिजीओ वा आइएनजीओमा रहेका व्यक्तिहरुले पनि लाभको पद लिन हुँदैन ।’

फरक प्रसंगमा सांसद राजभण्डारीले देशमा आर्थिक तरलता देखिनु भनेको देशभित्रको मात्र समस्या नभएको बताए । विश्वमा भएका ठूला घटनाक्रम जस्तो युक्रेनको युद्द, विश्वब्यापी कोभिड आदिले पनि आर्थिक क्षेत्र प्रभावित भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ