arrow

दोषी उम्कन हुँदैन, निर्दोषी फस्नु हुँदैन : मन्त्री विश्वकर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
bks.PNG

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले जुनसुकै अपराधमा दोषी उम्कन नहुने र निर्दोषी फस्न नहुने बताएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा आइतवार पोखरामा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले बढ्दो प्रविधिको विकाससँगै अपराधमा प्रयोग हुने गरेका नयाँ-नयाँ प्रविधि तथा प्रयोगको चुनौतीलाई सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । समाजमा शान्ति सुरक्षा कायम गराउन आपराधिक गतिविधि अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले अनुसन्धानलाई अझै प्रभावकारी बनाउने गरी लाग्नुपर्ने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी सङ्गठन निरन्तर दत्तचित्त भएर लागेको बताए । प्रहरीको मनोबल उच्च बनाउनका लागि सङ्गठनलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले यसबाट अनुसन्धानको प्रभावकारितामा पनि वृद्धि हुने बताए ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा त्यसलाई निष्पक्ष र भयरहित बनाउने वातावरण तयार गर्न उनले मातहतका निकायलाई निर्देशन दिए । 

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पछिल्लो समयमा अपराधको प्रवृत्ति बदलिएको उल्लेख गर्दै समय सापेक्ष चुनौतीका रुपमा बढिरहेका अपराधजन्य गतिविधिको अनुसन्धान तथा नियन्त्रण अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी नायब उपरीक्षक प्रवणकुमार विकलगायतले अपराधको अनुसन्धान र नियन्त्रणमा प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

गोष्ठीको आन्तरिक सत्रमा अपराध अनुसन्धान सम्बन्धमा प्रदेशका ११ वटै जिल्लाका प्रहरी प्रमुखबाट प्रस्तुतिकरणका साथै गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रस्तुतिकरण हुने बताइएको छ । साथै गोष्ठीमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रस्तुतिका साथै छलफल एवं अन्तक्र्रिया हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ