arrow

शक्तिको चलखेल

प्रचण्डको जालमा पर्दै माधव नेपाल, धाेका खानु भन्दा पार्टी एकता गर्नु वेश

कांग्रेससँग बार्गेनिङ गरेर धेरै सिट लिने र एमालेभन्दा ठूलो पार्टी बन्ने विश्वास 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
prachanda-madhavs.jpg

काठमाडौं । सधाधारी गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग बार्गेनिङ तह बढाउनका लागि  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । 

एस पार्टीले माओवादीबाट सोचे जति सहयोग नपाउने अवस्था देखेपछि पार्टी एकताकै लागि पहलकदमी अघि बढाउन लागेको हो । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने  निर्णय गरेको हो । 

पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट शुरु हुने भएकाले संयोजन समिति बनाउने प्रस्ताव गरेको बताए ।

उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए । 

माओवादीले पनि एस पार्टीलाई एकता गराउन खोजेको छ । खासगरी प्रचण्डले माधव नेपाललाई पार्टीभित्र ल्याएर एमालेसँग प्रतिस्पर्धा गर्ने र एमालेभन्दा ठूलो पार्टी बनाउने सोचाइ राखेका छन् ।

 ‘एमालेभन्दा ठूलो पार्टी बनाउने प्रचण्डको सोच छ त्यसकै परिणाम माधव नेपालको पार्टीलाई मिलाउन खोजिरहेका छन्’, एस पार्टीका एक नेताले भने ‘प्रचण्डको फन्दामा माधव नेपाल परेका छन् ।’ 

बुधबार बसेको बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको गरेको छ । ‘आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौँ र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ । तीन वटा नै कमिटीहरु निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एक जना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एक जना महिलासहित ४ जना उहाँहरुले नाम पहिला पठाउनुहुन्छ । त्यसपछि मात्रै जिल्लाले ती ४ जनामध्येबाट तीन जना छनोट गर्नुहुन्छ,’ तुलाधरले भने ।

नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनले बताए । प्रचण्डले भने यसअघि मंसिरमा हुने निर्वाचनपछि पार्टी एकताको तयारी हुने बताएका थिए । 

उनले त्यस क्रममा बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पनि एकताको तयारी भएको बताएका थिए । नेपाली कांग्रेससँग गठबन्धनमा रहेका नेकपा एस र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ