arrow

इलामेहरुले मेडिकल कलेज स्थापनाका लागि पहल थाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
ilam-medical-college-.jpg

काठमाडौं । इलाम नगरपालिकामा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्नका लागि विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिज्ञा गरेका छन् । राजधानीमा भएको एक कार्यक्रममा इलामेहरुले सो प्रतिज्ञा गरेका हुन् । 

बिहीबार इलाम नगरपालिकाको आयोजना तथा इलाम विकास समितिको संयोजनमा भएको कार्यक्रममा बोल्दै सत्ताधारी र प्रतिपक्ष दलका शीर्ष नेताहरूले मेडिकल कलेज बनाउन आफूहरुले सक्दो प्रयत्न गर्ने बताए । 

पहिलो संविधान सभाका अध्यक्ष कुलबहादुर गुरुङको प्रमुख आतिथ्यमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ लगायतका शीर्ष नेताहरुको उपस्थितिमा बसेको भेलाले इलाममा मेडिकल कलेज खोल्नका लागि पहल थालेका हुन् । 

सार्वजनिक कार्यक्रममा बिरलै देखिने गुरुङले इलामका लागि सकारात्मक कदम आएको भन्दै खुशी व्यक्त गर्दै आफूले सक्दो पहल गर्ने बताएका छन् । त्यस्तै नेकपा एसका सम्मानित नेता खनालले मेडिकल कलेज निर्माणका लागि कुनै पनि दलले विरोध नगर्ने दाबी गरे । उनले इलाम प्राकृतिक स्रोत साधन र ऐतिहासिक महत्त्वको जिल्ला भएकाले पनि मेडिकल कलेजका लागि उपयुक्त जिल्ला भएको उल्लेख गरे । 

त्यस्तै पूर्व सभामुख नेम्वाङले मेडिकल कलेज बनाएर जिल्लाको विकास गर्नमा आफ्नो दल बाधक नभएको उल्लेख गरे । उनले जिल्लाको विकास गर्ने सवालमा सबै दलबीच ऐक्यवद्धता हुनुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले पनि नगरले अघि बढाएको योजनाको प्रशंसा गरिन् । आयोजकका तर्फबाट इलाम नगरपालिका प्रमुख केदार थापाले सरकारको नीति प्रत्येक प्रदेशमा एक मेडिकल कलेज अनिवार्य भएको भन्दै प्रदेश १ मा इलाम नगरपालिकामा मेडिकल कलेज बनाउन आवश्यक भएकोमा जोड दिए ।

उनले कार्यपत्र नै प्रस्तुत गर्दै आफूले सम्पूर्ण ध्यान मेडिकल कलेज निर्माणका लागि पहल गर्नमा लगाउने बताए । 

कार्यक्रममा कर्णाली विश्वविद्यालयका पूर्व डिन प्राडा राजेन्द्र वाग्ले, पूर्वसचिव खेमराज नेपाल, प्राडा जनक कोइराला, मिलन गुरुङलगायतले मेयरले राखेको कार्यपत्रमा टिप्पणी राखेका थिए ।

इलाममा मेडिकल कलेज बन्दा १० लाख भन्दा बढी (इलाम, पाँचथर, ताप्लेजुङ, झापा, तेह्रथुमसँगै भारतको दार्जलिङ र सिक्किमकासमेत) बिरामीले सेवा पाउन सक्ने भन्दै पूर्वकै सबैभन्दा ठूलाे अस्पताल इलाममा बन्नुपर्नेमा जाेड दिइयाे । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ