arrow

नेपालबाट चोरिएको १४ औं शताब्दिको दुर्गा देवीको मूर्ती न्यूर्योकबाट फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
Art_New_York-nepali-durga.jpg

काठमाडौं । करिब ६० वर्षअघि नेपालबाट चोरी भएको भगवान् दुर्गा देवीको मूर्ति गत मार्चमा अमेरिकामा फेला परेको थियो । १४ औं देखि १८ औं शताब्दीमा कुदिएको अनुमान गरिएको सो पुरातात्त्विक मूर्ति नेपाल फिर्ता गरिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले एक विज्ञप्ति जारी गर्दै न्यूयोर्ककै म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा उक्त पुरातात्त्विक वस्तुको पुनः प्राप्ति र नेपाल फिर्ता गर्ने घोषणा गरेका बताएको छ ।

अगस्ट २४ अर्थात् हिजो बुधबार उक्त पुरातात्त्विक मूर्ति नेपाल फिर्ताको घोषणा गरिएको हो । घोषणा पछि म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता अल्भिन एल ब्राग जुनियरबाट नेपालको लागि पुरातात्त्विक वस्तु प्राप्त गरेका छन्।  ।

ढुङ्गामा कुदिएको यो मूर्ति १३.२३ इन्च अग्लो र १३.२३ इन्च चौडा रहेको छ । सन् १९६० ताका नेपालबाट हराएको उक्त मूर्ति सन् २०२२ को मार्चमा अवैध रूपमा स्वामित्वमा राखेर न्युयोर्कको एक लिलामी घरमा करिब १५ लाखदेखि २२ लाख नेपाली रुपैयाँ (१२ हजार देखि १८ हजार अमेरिकी डलर)मा लिलामीमा राखिएको थियो ।

कन्सुलेट जनरल, म्यानहट्टन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्त्व विभागको संयुक्त सहकार्यमा यो मूर्ति फेला पारिएको थियो ।

पुरातात्त्विक सम्पत्ति प्राप्त गरेसँगै कार्यवाहक कन्सुल जनरल गौतमले जिल्ला न्यायधिवक्ता ब्राग जुनियर र संयुक्त राज्य अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभागका इन्चार्ज रिकी पटेल र उनीहरूको उत्कृष्ट टोलीप्रति सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन्।

यसअघि सन् २०२१ मा पनि नेपालबाट चोरी भएका तीन वटा पुरातात्त्विक सम्पदा बरामद गरी नेपाल फर्काइँदा जिल्ला सरकारी वकिलको कार्यालयसँगको यस्तै सहकार्यको स्मरण गर्दै गौतमले चोरी भएको सांस्कृतिक सम्पदा बरामद गर्न अमेरिकी अधिकारीको प्रतिबद्धता र सहयोगप्रति प्रशंसा व्यक्त गरेका छन् ।

होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्कका कार्यवाहक विशेष एजेन्ट इन्चार्ज रिकी पटेलले नेपाली पुरातात्त्विक सम्पत्तिको भव्य स्वदेश फिर्ताको लागि योगदान गर्न पाउँदा गर्व महसुस गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ