काठमाडौँ। गत जेठ ३ गतेदेखि शुरू भएको अधिकमास (मलमास) आजदेखि औपचारिक रूपमा समाप्त भएको छ। हिन्दू धर्मशास्त्रमा यस महिनालाई अत्यन्त पवित्र मान्दै 'पुरुषोत्तम महिना' पनि भन्ने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार हिन्दू पात्रो (पञ्चाङ्ग) मा चन्द्र वर्ष र सौर वर्षबिचको समयान्तर (दिनको फरक) मिलाउनका लागि हरेक ३२ महिना १६ दिन १ घडीमा एउटा अतिरिक्त महिना थपिने गर्छ। सोही नियम अनुसार यस वर्ष जेठ महिनामा अधिकमास परेको हो। यसअघि वि.सं. २०८० सालको साउन महिनामा अधिकमास परेको थियो।
धार्मिक मान्यता अनुसार अधिकमास अवधिभर विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ कार्यको थालनी जस्ता संस्कार र शुभ कार्यहरू गर्न वर्जित मानिन्छ। तर, यस महिनामा गरिने जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन, तीर्थस्नान तथा सत्कर्मको फल अन्य महिनाको तुलनामा धेरै गुणा बढी हुने र पुण्य प्राप्त हुने जनविश्वास छ।
अधिकमास समापन भएसँगै काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित ऐतिहासिक पुरुषोत्तम (नारायण) मन्दिर (मत्स्यनारायण) मा लाग्ने विशेष मेला पनि आजैदेखि सकिएको छ। महिनाभर सो क्षेत्रमा लाखौँ भक्तजनहरूले पूजा–आराधना गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
अधिकमासको अवधिभर उक्त मन्दिरमा भगवान् नारायणको विशेष पूजा-अर्चना हुनुका साथै पुरुषोत्तममास महात्म्यको वाचन एवं श्रवण गर्ने श्रद्धालुहरूको ठुलो घुइँचो लागेको थियो। आज अधिकमास सकिएसँगै भोलिदेखि हिन्दु परम्परा अनुसारका नियमित मांगलिक तथा शुभ कार्यहरूका लागि बाटो खुला भएको छ।