arrow

सञ्चार क्षेत्रमा महिलाको सहभागिताले महिलाका मुद्दा बाहिर ल्याउन सहज : अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
madhumaya_adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले सञ्चार क्षेत्रमा महिलाको सहभागिता भएपछि महिलाका मुद्दा बाहिर ल्याउन सहज हुने बताएकी छन् । 

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले सरकारले महिलाका लागि कोटा निर्धारण गरे पनि भनेजति अझै सहभागिता नरहेकाले महिला पत्रकारलाई यस्ता विषयमा कलम चलाउन सुझाव दिइन् ।

स्वास्थ्य क्षेत्रमा महिलाहरु पछिपरेका कारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाका लागि विविध कार्यक्रम ल्याएको उनको भनाइ छ । 

प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निःशुल्क उपचारदेखि शहीद, अपांग र बेपत्ताका परिवारलाई निःशुल्क उपचारको प्रबन्ध मिलाएको मन्त्री अधिकारीले बताइन् । पत्रकारका लागि कोरोना विरुद्धको खोप र स्वास्थ्य बिमाका लागि मन्त्रालयको समन्वय गरेको उनले बताइन् ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले महिला पत्रकारहरु अझै मिडिया क्षेत्रमा खुलेर लाग्न नसकेको बताउँदै आफ्नो हकअधिकारका लागि पनि महिलाहरु यस क्षेत्रमा लाग्नुपर्नेमा जोड दिइन् ।

पत्रकार महासंघ कास्की कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले महासंघले संस्कार र संस्कृति जगेर्ना गर्दै विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रम संयोजक तथा महासंघ उपाध्यक्ष जमुना वर्षा शर्माले चाडपर्वको अवसरमा बाँडिएको शुभकामनाले सबै दिदीबहिनीहरुमा कमल चलाउने आँट साहस बटुल्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा, सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठ, महासंघका सचिव माधव बराल लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ