arrow

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा, अक्टोबरको महिला विश्वकप पुनः आयोजना गर्न पाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
all-india-football-federation.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआईएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो ।  एआईएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिएको थियो । 

यो कमिटीलाई अदालतले एआईएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआईएफएफलाई अगस्त १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो । 

त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तीव्र रुपमा कार्य गरिरहेको थियो । भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटीलाई खारेज गर्दै एआईएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो । 

सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए । फिफाले पूर्ण रुपमा एआईएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो । 

एआईएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआईएफएफको दैनिक गतिविधिमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।

निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।



नयाँ