- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले ब्यापार प्रवद्र्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।
दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुर्याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवद्र्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागिसमेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
ईपीएसमार्फत कोरियामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रवद्र्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए ।
उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामग्री, जडिबुटी, भिरमह लगायतको माग कोरीयामा बढ्दो छ, ।’
कोरियाली बहुर्राष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनाका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए ।
भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन र दुई पक्षीय ब्यापार नै पहिलो प्राथमिकता रहेको बताइन् ।
उनले भनिन्, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ ।’
यस्तै चेम्बर अफ कमर्शका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय ब्यापारबारे छलफल भएको छ ।
अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजीकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसँग आग्रह गरे ।
सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।
जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्वन्ध विस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ ।