arrow

हरेक विपद् र आन्दोलनको मारमा निजी क्षेत्र परेको छ : पूर्वअध्यक्ष श्रेष्ठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
rajesh-kaji-shrestha-chamber.jpg

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरूदेखि आन्दोलनहरूबाट व्यापारीहरू ठूलो मारमा परेको बताएका छन्।

नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२औँ वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरूलाई बैंकले समान तवरले नहेरेको बताए। 

ठूलो बिजनेस गरेकाहरूलाई मात्रै पुनःतालिकीकरण, पुनःकर्जा पाइरहेको भन्दै उनले साना व्यवसायीहरूको समस्या सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको बताए ।

पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘कहिले आन्दोलन, कहिले प्राकृतिक विपद् जे गर्दा नि पिसिने (मारमा पर्ने) व्यापारी नै रहेछ । जहिले पनि निजी क्षेत्रमाथि नै प्रहार भइरहेको छ । ठूलो उद्योगदेखि होटलसम्म नै आक्रमण हुँदा त्यसको असर तलसम्मै परेको छ । त्यसबारे कसैले बोलेको छैन् । ठूला उद्योगहरूको बैंकहरूले पनि रिसेडुल गरिदिएको छ तर साना उद्योग, व्यवसायीलाई रिसुडुल कसले गरिदिने त ? जहाँ पनि हामी उद्योगी व्यवसायी पिसिने र बन्द, हरताल सबै व्यहोर्नुपर्ने हामीले ?’

उनले उद्योगी व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोकिनुपर्ने र असुरक्षाको वातावरण अन्त्य हुनुपर्ने बताए। उद्योगी व्यवसायीमाथि भइरहेको आक्रमणका विरुद्ध व्यवसायीहरू एकजुट हुनुपर्ने बेला आएको श्रेष्ठले बताए।

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) का अध्यक्ष सञ्जय अग्रवाल नेपालमा उत्पादित समाग्रीहरूलाई इटली र युरोपहरूमा विस्तार गर्ने काम भइरहेको बताए ।

इटलीयनहरूको मुख्य उद्देश्य इटली प्रोडक्टसहरूलाई नेपाल पठाउने भए पनि आफूहरूको उद्देश्य नेपालबाट धेरै भन्दा धेरै वस्तुहरू इटलीसहितका युरोपेलियन मुलुकहरूमा बजारीकरण गर्ने रहेको अग्रवालले बताए ।

अध्यक्ष अग्रवालले भने, ‘इटलीयनहरूको फोकस इटलीमा उत्पादित सामग्रीलाई नेपाली बजारमा पठाउने हुँदो रहेछ तर हाम्रो फोकस नेपाली वस्तुलाई इटलीयन बजारमा पठाउने हुन्छ । हामीसँग धेरै ब्राण्डहरू छन्, तिनले इटलीसहितका देशमा बजार पाइरहेका छैनन् । बजारीकरण गर्ने काम नेपाल इटली चेम्बर चेम्बर अफ कमर्शले गरिरहेको छ ।’

इटलीका लागि भिसा पाउन गाह्रो हुँदा नेपाली वस्तुहरू  बजारीकरण गर्न समस्या परिरहेको अध्यक्ष अग्रवालले बताए । नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) का वरिष्ठ उपाध्यक्ष अरनिकोराज भण्डारीले नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका कारण नेपाल इटली व्यापार गर्न सहजता आएको बताए ।

उपाध्यक्ष भण्डारीले भने, ‘इटली चेम्बर अफ कमर्स भइसकेपछि हाम्रो प्रतिनिधत्व इटलीमा छ भन्नेहुँदो रहेछ । कुनै मेसिन, समानहरू ल्याएर केही तलमाथि भयो भने हाम्रो संघ संस्थाले ठूलो भूमिका खेल्दो रहेछ ।’

वार्षिक साधारणसभामा आगामी तीन वर्षका लागि अग्रवाल पुनः अध्यक्षमा निर्वाचितसमेत भएका छन्।

कार्यक्रममा भिनोद सग्तानीलाई मेम्बर अफ दि इयर २०२५ बाट सम्मान प्रदान गरिएको थियो भने कल्याण सिलवाललाई निक्कि सीएसआर कम्युनिटी २०२५ बाट सम्मान प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ