arrow

राजनीतिक अपराध

आपराधिक पृष्ठभूमिका रामशंकर एमालेका उम्मेदवार सिफारिस

जन्मकैद पाएका रामशंकरलाई ओलीको सिफारिसमा विद्याले दिएकी थिइन् माफी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
ramshankar-yadav-uml-crime.jpg

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले आपराधिक पृष्ठभूमि जोडिएका व्यक्तिलाई उम्मेदवारको सिफारिस गरेको छ । गोरखाबाट गुण्डा नाइके भनेर चिनिने चक्रे मिलनलाई सिफारिस गरेको एमालेले सिराहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका तीन वर्षअघि छुटेका व्यक्तिलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ । 

हत्या अभियोगबाट सजाय पाई छुटेका व्यक्ति रामशंकर यादवलाई एमालेले उम्मेदवारको सिफारिस गरेको हो । एमालेले यो क्षेत्रबाट प्रहरीको हत्या अभियोगमा अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल उमेदवारको रुपमा नाम सिफारिस गरेपछि उनी उम्मेदवार हुने निश्चित जस्तै भएको त्यहाँका स्थानीय एमाले नेताहरुले जनाएका छन् । 

सो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरी निर्वाचित भएका थिए । कांग्रेसका बौद्धिक नेता गिरीको यसै महिना निधन भएको छ । 

उम्मेदवार सिफारिस गरिएका यादव पार्टीका मधेश प्रदेश कमिटी सदस्य पनि हुन् । प्रहरी जवानको हत्या गरेको भन्दै सिराहा जिल्ला अदालतले उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका उनलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो । तर, उनलाई २०७६ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् । 

यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुबाहक बसको विषयलाई लिएर विवाद भएपछि झडप हुँदा हातहतियारसहित आएका रामशंकर यादवका समूहले गोली चलाएका थिए ।

त्यस क्रममा सुरक्षार्थ खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै सिराहा जिल्ला अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा ६ माघ २०६१ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

अदातलको फैसलापछि फरार रहेका यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ३ पुस २०६९ मा काठमाडौंको काँडाघारीबाट पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा बुझाउँदा फैसला कार्यान्वयनका लागि जेल चलान गरिएको थियो । 

२०७६ सालको संविधान दिवसका दिन उनलाई मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति भण्डारीले आममाफी दिएपछि रिहा भएर एमालेको राजनीतिमा छिरेका थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता फौजदारी मुदा लागेका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ । ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । 

यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आममाफी पाएको ६ वर्ष पुगेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ