arrow
ADVERTISEMENT

इतिहासमै सबैभन्दा बढी व्यक्तिले हेरे बेलायती महारानीको अन्तिम उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
elizabeth-ii-queen-elizabeth.jpg

काठमाडौं । ५० लाख भन्दा बढी मानिसहरूले मंगलबार बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्तिम उडान हेरेका छन् । यससँगै दिवंगत महारानीको शवलाई एडिनबर्गबाट ​​लन्डनसम्म लैजाने यात्रा इतिहासको सबैभन्दा बढी ट्र्याक गरिएको उडान बनेको हो ।

उडान ट्र्याक गर्ने वेबसाइट फ्लाईट राडार २४ ले कुल ४७ लाख ९० हजार मानिसहरूले उडान अनलाइन लाइभ हेरेको जनाएको छ । यस्तै सोही बेला अर्को करिब ३ लाख मानिसहरूले यसको युट्युब च्यानलमा लाइभ हेरिरहेको फ्लाइट राडार २४ ले जनाएको छ ।

बोइङ सी १७ ए ग्लोबमास्टरले एडिनबर्गको एयरपोर्टमा ट्रान्सपोन्डर खोलेको पहिलो मिनेटमै अभूतपूर्वरुपमा ६० लाख मानिसहरूले उडान पछ्याउन खोजेको कम्पनीले जनाएको छ । एकै पटक धेरै ट्राफिक आउँदा प्लेटफर्ममै जटिलता हुने स्थिति बन्न पुगेको कम्पनीको भनाइ छ ।

महारानीको रुपमा एलिजाबेथ द्वितीयाको पहिलो फ्लाइट बीओएसी एर्गोनट एटलान्टाको ७० वर्षपछि उनको अन्तिम उडान फ्लाइट राडार २४ को इतिहासमै सबैभन्दा बढी ट्र्याक गरिएको विमान बनेको हो ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्धितीयाको सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरलमा निधन भएको थियो । उनको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ ।

फ्लाईट राडार २४ मा यसअघि धेरै ट्र्याक गरिएको विमानका रुपमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गर्दाको उडान करिब २२ लाख जनाले लाइभ हेरेको कम्पनीले जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ