arrow

बाह्र हजार नाघे सरकारको तथ्याङ्कमा डेंगी संक्रमित, ११ को मृत्यु, लाखौंको संख्यामा संक्रमित रहेको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
dengue-1.jpg

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।

यस्तै, डेंगी संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगीका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगी बर्सेनि देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगी फैलिएको छ ।

जनस्वास्थ्यविद्हरुले भने सरकारको बेवास्ताले गर्दा संक्रमितको संख्या सही आउन नसकेको बताएका छन् । अहिले बस्तीबस्तीमा संक्रमित रहेको दाबी गरिएको छ । तर अधिकांश बिरामीहरु चिकित्सकको पहुँचमा पुगेका छैनन् । 

सरकारले डेंगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सरकारी तथ्याङ्कमा कम संक्रमित देखिएको भन्दै टोलटोलमा परीक्षण गर्ने हो भने लाखौंँ संक्रमित रहेको दाबी गरेका छन् । 

उनले सामाजिक संजालमा लेखेका छन्, ‘घरघरमा डेंगीले आक्रान्त गरेको छ  । नागरिकहरु अथाह पीडामा छन् । स्वास्थ्य मन्त्रालयले भन्छ – कर्मचारीले फुल बाहुले कपडा लगाउनू ! महानगर तथा नगरपालिका डेंगी नियन्त्रण गर्न बक्तब्यबाजीमा रमाएका छन् । वडाहरु बेखबर छन् । प्रदेश सरकारबाट कुनै अपेक्षा छैन ।
झ्यांग फाड्ने, खाल्डा पुर्ने, जोखिम स्थानमा स्प्रे तथा पाउडर छर्ने, वडावडामा जनचेतना तथा निःशुल्क टेस्टको ब्यबस्था गर्ने, सिटामोलको अभाव पूरा गर्ने, डेंगी डेडिकेटेड अस्पताल तोक्ने...काम धेरै छन् । सरकारी तथ्यांकमा १० हजार संक्रमित छ । टोलटोलमा चेक गर्ने हो भने लाखौँ संक्रमित छन् । यस्तो मौनता संसारमा कतै छैन होला । मङ्सिर ४ त आओस् ।’

 



नयाँ