arrow

सरकारको आग्रह आयोगले मानेन, संसदको कार्यकाल भोलि मध्यरात सकिने गरी तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने कार्यतालिकालाई केही दिन पर सार्न गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ । 

प्रधानमन्त्री देउवाले केही दिनअघि बन्द सूची पेश गर्ने समय चार दिन पर सार्न आग्रह गरेको तर आयोगले समय अभाव देखाएर अस्वीकार गरेको स्रोतको दाबी छ । निर्वाचन आयोगको अस्वीकार पछि शनिबार मध्यरातिबाट संसदको कार्यकाल सकिने गरी सरकारले तयारी थालेको छ ।

 ‘सरकारको आग्रहलाई आयोगले अस्वीकार गर्यो शनिबार मध्यरातिबाट संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको छ’, स्रोतले भन्यो । संसदमा रहेका विधेयक र नागरिकता विधेयक पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभइसकेको अवस्थामा सरकारले केही दिन संसद लम्ब्याउन चाहेको थियो तर आयोगले त्यसलाई अस्वीकार गरेपछि संसद अधिवेशन अन्त्य गर्न लागिएको हो । 

त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई बिदाइ गर्ने तयारीसमेत थालिसकेका छन् । सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी भएको एक उच्च अधिकारीले बताए ।
 
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि शुरु हुँदै छ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ । 

आयोगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसद्को कार्यकाल सकिने जानकारी गराइसकेको थियो । सरकारले भने राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरेसम्म प्रतिनिधिसभा कायम राख्ने प्रयत्न गरेको थियो । 

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्न नसक्ने जनाउ दिएपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्न लागेको हो । ‘संसदको अन्त्यसँगै सभामुखले सांसदहरुको बिदाइ कार्यक्रम पनि राखेका छन्’, स्रोतले भन्यो । 

स्रोतका अनुसार सांसदहरुलाई समय भने भनिएको छैन । करिब पाँच वर्षे कार्यकाल सिध्याएर सांसदहरु आगामी निर्वाचनको तयारीमा जिल्ला जाने कार्यक्रम बनाएका छन् । 

२०७४ साल फागुन २१ गते संघीय संसद् भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधि सभाका सांसदहरु असोज १ गतेबाट बिदा हुन लागेका हुन् । संघीय संसद सचिवालयले भोलि शनिबारसम्म सांसदहरुको बिदाइ कार्यक्रम गर्ने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ