arrow

गगन थापाले काठमाडौं ४ मा डेंगीको निःशुल्क परीक्षण र सेवा दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ८ शनिबार
gagan-thapa-2079-06--8.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सांसद भएको काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण र सेवा दिने भएका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको संरचनाअनुसार नै ४ नम्बर क्षेत्रका बासिन्दालाई डेंगी परीक्षण र सेवा दिने बताएका हुन् । 

सामाजिक संजालमार्फत उनले सकेसम्म नेपाल सरकार र स्थानीय स्थानीय सरकारले डेंगी संक्रमणबाट जोगिनका निम्ति गरेको अनुरोधलाई पालना गर्न आग्रह गर्दैै यदि संक्रमित भइहालेको अवस्था छ भने त्यो बेलामा पनि समयमै उपचार लिने कुराबाट बञ्चित नहोऔं भनी आह्वान गरेका छन् । 

थापा पनि डेंगी संक्रमित भइसकेका छन् । उनले यो कोभिड भन्दा पनि पीडादायी रहेको बताउँदै यसबाट बच्नु नै पहिलो विकल्प र यदि संक्रमित भइहाले समयमै उपचार लिन जोड दिएका हुन् । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले यसो भनेका छन् सामाजिक संजालमा–

‘डेंगी संक्रमणको कारणले बिरामी भएर भर्खरमात्र उठेको छु । योभन्दा अगाडि मलाई दुईपटक कोरोना संक्रमण भएको अनुभव रह्यो । तर यो कोरोना संक्रमणको अनुभव भन्दा एकदमै फरक र एकदमै गाह्रो मैले यो पटक अनुभव गरेँ । मेरो सानी छोरी पनि डेंगीबाट बिरामी भएर अहिले पनि घरमै छ । अझ साना केटाकेटीहरुलाई कति गाह्रो हुने रहेछ भन्ने कुरा नजिकबाट देखिरहेको छु । आठ दश दिन भइसक्यो म पूर्णरुपमा अझै स्वस्थ्य अनुभव गर्न सकिरहेको छैन । यतिधेरै यसले कमजोर पनि बनाउँदो रहेछ । औषधि पनि खासै केही नहुने । खाली यसको एउटा निश्चित समयसम्म कुर्नुपर्ने भन्दा अर्को विकल्प पनि नभएको । त्यसकारणले पनि अझ अतिरिक्त अप्ठ्यारो हुँदो रहेछ । 
हामीले कोभिडकै अनुभवबाट सिकेर काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको जुन एउटा संरचना बनायौं शहरको स्वास्थ्यको संरचना बन्दै गर्दा त्यसले कति सेवा पुर्याउन सक्दो रहेछ भन्ने कुरा यो पटक आफैले सेवाग्राही भएर महसुस गरेँ । घरमै आएर आफ्नो टेष्ट पनि गर्ने त्यो पनि निःशुल्क टेष्ट । अरु परामर्श उपलब्ध हुने । यो कुरा मैले अनुभव गरेँ । तर सँगसँगै के पनि हो भने फेरि यही ठाउँहरुमा अहिले डेंगीको संक्रमण बढ्दै जाँदै गर्दा प्रकोप बढ्दै जाँदै गर्दा सामान्य परामर्श सेवाहरुसमेत प्राप्त गर्न सकिरहेको अवस्था छैन । यही कुरालाई मध्यनजर गरेर र कोभिडमा पनि सांसदको कार्यालयको मेरो टिमले काम गरेको अनुभवको आधारमा पनि फेरि एकपटक यत्रो प्रकोप फैलिएको बेलामा हामी जुटौं भनेर हामी साथीहरु फेरि एक ठाउँमा जुटेर सकेसम्म जहाँ सेवा पुगेको छैन त्यो ठाउँमा सेवा पुर्याउने कोसिस गरौं भनेर लागेका छौं । तपाईहरुको गाउँहरुमा ठाउँहरुमा हाम्रो टिमको साथीहरु डेंगीको निःशुल्क परीक्षण गर्ने यो सेवा लिएर आउनु हुन्छ । आवश्यकता अनुसारको अरु परामर्श र सेवा लिएर आउनु हुन्छ र यो बीचमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को कोही पनि यहाँको बासिन्दा कोही घरमा बसेर सेवा लिइराख्नु भएको छ तर उचित परामर्शको आवश्यकता महसुस गर्नुभएको छ यस्तो खालको आवश्यकता छ भने कोभिडको जस्तै सेवा पुर्याउनको निम्ति हामीले केही संस्थाहरुसँग मिलेर अभियान शुरु गरेका छौं यसका निम्ति तपाईहरु जसलाई सेवा लिनु पर्नेछ तपाईहरुले सांसदको कार्यालयको नम्बर ९८६०३४०५८७ मा सम्पर्क गर्न सक्नुहुन्छ । यो नम्बरमा सम्पर्क गर्नुभयो र आफ्नो नाममात्र टिपाइदिनु भयो भने हाम्रो आफ्नो समन्वय साथीहरु, चिकित्सक लगायतको अरु आवश्यकताअनुसारको जनशक्ति तपाईहरुको सम्पर्कमा आउनु हुन्छ र जे आवश्यकता छ त्यो अवश्यकता अनुसार त्यो मद्धत पुर्याउनु हुन्छ । सकेसम्म डेंगुको संक्रमणबाट जोगिनु नै महत्वपूर्ण कुरा हो । नेपाल सरकारले, त्यस्तै स्थानीय सरकारले डेंगीको संक्रमणबाट जोगिनका निम्ति जुन अनुरोधहरु गरेको छ त्यसलाई पालना गरिदिँउ । सकेसम्म संक्रमित नै नबनौं । यदि संक्रमित भइहालेको अवस्था छ भने त्यो बेलामा पनि समयमै उपचार लिने कुराबाट बञ्चित नहोऔं । यही हाम्रो प्रयास हो धन्यवाद ।’ 

 



नयाँ