- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको म्याग्दीमा राजनीतिक सरगर्मी बढेको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् । नेकपा (एमाले ), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ), एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा र मङ्गोल नेशनल अर्गनाइजेशनका नेता भेला, बैठक, प्रशिक्षण र भेटघाटमा छन् । एमाले आफ्नो विरासत जोगाउने कसरतमा छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । एमालेले यसअघिको चुनावमा माओवादीसँगको तालमेलबाट प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्य तथा पछिल्लो स्थानीय तह निर्वाचनमा एक्लै चारवटा स्थानीय तहको नेतृत्व जितेको थियो ।
एमालेले प्रतिनिधि सभा सदस्यका लागि पूर्वजिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नाम एकल सिफारिस गरेर तयारी थालेको छ । 'जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ', उनी भन्छन्, '२०७४ मा दुई वटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितेको आधार हो ।'
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घ संस्थाको पनि नेतृत्व गरेका थिए । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र ७४ मा एमालेले म्याग्दीमा प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, १८ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वडा जितेका थिए ।
स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल नहुँदा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेको कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले आगामी चुनावमा गठबन्धनलाई प्रभावकारी र बलियो बनाउन लागिएको बताउँछन् ।
'स्थानीय तहको चुनावको परिणामलाई समीक्षा गरेर केन्द्रीय नीतिअनुसार आसन्न चुनावमा तालमेललाई प्रभावकारी बनाउन माओवादी, एकीकृत समाजवादी दलका जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानको वातावरण बनाउने गृहकार्यमा छौँ', उनी भन्छन्, '२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र जसपासँग तालमेल हुँदा जितको अवसर सदुपयोग गर्न मेहनत गरेका छौँ ।'
अघिल्लो संसदीय निर्वाचनमा एमालेसँगको तालमेलमा एक प्रदेश सभा सदस्य जितेको माओवादी यसपालि आफ्नो जनमतलाई सुरक्षित गर्दै गठबन्धनबाट लाभ लिने सोचमा छ । माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्नसक्ने आधार खडा गरिएको बताउँछन् ।
'गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ', उनी भन्छन्, 'केन्द्रीय नीतिअनुसार पाँच दलीय गठबन्धनबीच तालमेलको वातावरण बनाउनुका साथै आन्तरिक तयारी पनि गरेका छौँ ।' नेकपा एकीकृत समाजवादी, राप्रपा र मङ्गोल नेशनल पार्टीले पनि म्याग्दीमा राजनीतिक गतिविधि बढाएका छन् ।
आसन्न चुनावका लागि ४२ हजार ५५ पुरुष, ४४ हजार ६४ महिला र एक जना तेस्रो लिङ्गी गरी कूल ८६ हजार एक सय २० मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामो ५६ हजार चार सय ५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइँसराइ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि सात सय ४५ मतदाता थपिएका हुन् ।
बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेश सभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धौलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेश सभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।
बेनी नगरपालिकामा २२ हजार एक सय ८५, अन्नपूर्णमा १२ हजार ०६८, धौलागिरिमा १० हजार आठ सय ३७, मालिकामा १३ हजार तीन सय ३४, मङ्गलामा १३ हजार चार सय ७७ र रघुगङ्गा गाउँपालिकामा १४ हजार दुई सय १९ मतदाता कायम भएका छन् । रासस