arrow

सेना पुलिस राखेर निर्वाचन आयोगले गर्‍यो प्रेस अफिस स्थापना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
election-commission-hq-building-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ । 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे । 

प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचनसँग मिडियाले सम्बन्धित खोज्ने सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढङ्गले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो । यसका अलवा प्रेस अफिबाट आम नागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्री पनि उत्पादन गरी सम्प्रेषण हुनेछन् ।”

उनले थप प्रष्ट पार्दै भने, “प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममाथि पूर्ववतरुमा गर्दै आएको सञ्चारमाध्यमको अनुगमन यथावत् गर्नेमा आयोग स्पष्ट छ । सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रुपमा ती निकायबाट प्रतिनिधि राखिएको हो ।”
 
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दल लगायतका सरोकारवालासमक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चारमाध्यमसँग उचित सहकार्य गर्नर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारीरुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न यो कार्यालय खडा गरेको हो । आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधाराणापत्रबमोजिम यो संयन्त्र स्थापना भएको हो ।
      
यस कार्यालयबाट सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि एकद्वार प्रणाली लागू भई आयोगले प्रवाह गर्ने हरेक प्रकारका सूचना तथा सन्देश प्रभावकारी तवरले लक्षित वर्गसम्म प्रवाह हुनेछ । यस कार्यालयबाट सञ्चारमाध्यमले मागेको वा खोजेको बखत आयोगबाट प्रवाह गर्न मिल्ने सूचना सहजै उपलब्ध गराइनेछ । 

निर्वाचन प्रक्रियामा सामाजिक सञ्जालको उपयोगमा वृद्धि  र आयोगका सामाजिक सञ्जालको पहुँच बढ्ने, निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धि हुने, निर्वाचन र मतदानका बारेमा निर्वाचनका सरोकारवालालगायत आम मतदाता सुसूचित हुने आयोगको अपेक्षा रहेको छ । 

निर्वाचनसँग सम्बन्धित दुष्प्रचार, मिथ्या सूचना र घृणाष्पद अभिव्यक्तिको रोकथाम गर्न, निर्वाचनमा हुने बदर मत गत निर्वाचनको तुलनामा कम गर्न यस कार्यालयले भूमिका निर्वाह गर्नेछ । साथै निर्वाचन प्रचारप्रसारमा आमसञ्चार क्षेत्र र सामाजिक सञ्जालसँग साझेदारी तथा सहकार्य अभिवृद्धि हुनेछ ।
      
प्रेस कार्यालयले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण, अफवाहपूर्ण तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र सूचना तोडमोड गर्ने व्यक्तिलाई त्यस्तो सामग्री, सूचना सामाजिक सञ्जालबाट तत्काल हटाउन लगाउने, त्यस्तो व्यक्तिलाई कानूनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने र यसरी कारवाही गर्ने सम्बन्धमा कुनै जटिलता देखिएमा निर्देशक समितिसमक्ष रायसहित पेस गर्ने प्रबन्ध गरिएको छ ।
      
आयोगले सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रेस काउन्सिल नेपालले गर्ने भएकाले आयोगले सञ्चारमाध्यममाथि कुनै कारबाही गर्ने तयारी नगरेको स्पष्ट गर्दै सञ्चारमाध्यमले निर्वाचनका समयमा स्वनियमनको नीति कार्यान्वयन गरी निर्वाचन आचारसंहिताको पालनामा सघाउन आग्रह पनि गरेको छ ।

तर सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहने गरी सर्वसाधरणको सामाजिक सञ्जाल, मिडिया अनुगमन गर्ने ‘प्रेस अफिस’ संचालनमा ल्याइएपछि भने चर्को आलोचना भइरहेको छ । 

आयोगले प्रेस काउन्सिलको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरिएको हो । यो कार्य अत्यन्तै आपत्तिजनक काम भएकोसमेत प्रेस जगतका विभिन्न संस्थाले भनेका छन् । 

यद्यपि प्रमुख निर्वाचन आयुक्त थपलियाले पटक पटक प्रेस काउन्सिलले आफ्नो काम गर्ने भन्दै आएका छन् । तर व्यवहारमा भने उनले कसैले पनि निर्वाचन गतिविधिको विरोध नगरोस् भन्ने कठोर नीति ल्याएको आरोप लागेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ