- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेताहरु समानुपातिक र प्रत्यक्षतर्फको सिट बाँडफाँटको अन्तिम चरणमा पुगेका छन् । आज समानुपातिकतर्फको प्रदेश र प्रतिनिधि सभाको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले कांग्रेस नेताहरु घनिभूत रुपमा छलफलमा रहेका छन् ।
नेताहरु एकैपटक सिट बाँडफाँटमा जुटेका छन् । जसअनुसार समानुपातिकदेखि प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट पनि आजै मिलाउने गरी छलफल चलिरहेको छ ।
हिजो दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटरमा छिरेका नेताहरु अहिलेसम्म छलफलमै रहेका छन् । रातभर पनि नेताहरु घर फर्केनन् ।
यो छलफललाई कांग्रेसलाई जोगाउने ऐतिहासिक छलफलका रुपमा पनि लिइएको छ । किनकि संस्थापनले समानुपातिकको बन्दसूचीमा डा. शेखर कोइराला पक्षलाई १० प्रतिशत सिट पनि नदिएपछि न्यायका लागि थालेको आन्दोलनले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्नेसम्मको अवस्था आएको बताएपछि कांग्रेसमात्र हैन पाँच दलीय सत्ताधारी गठबन्धनमैसमेत गम्भीर प्रश्न उब्जिएको छ ।
यो छलफल असफल भए कांग्रेसका लागि सबैभन्दा दुर्भाग्यको क्षण हुनेछ । त्यसका लागि पनि नेताहरु गम्भीर भएर छलफलमा जुटेका छन् ।
वार्तामा सहभागी एक नेताका अनुसार वार्ता सकारात्मक ढंगले अगाडि बढिरहेको छ । उनले सिंगो पार्टीकै अस्तित्वको सवाल भएकाले यहाँ कुन पक्ष हावी भन्ने विषय गौण बन्दै गएको बताएका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला पक्षलाई पनि मिलाएर अगाडि बढ्न सहमत भए पनि उनी निकटका दोस्रो तहका नेताहरु भने पेलेरै जाने मनस्थितिमा भएपछि आजको दिनसम्म आउनु परेको हो ।
दोस्रो तहका नेताहरु भने कोइराला पक्षलाई गलाएर जतिसक्यो थोरै भाग दिएर आफूहरुले रजाइँ गर्ने नीति लिएको पाइन्छ । कोइराला पक्षका एक नेताले भने, ‘जब पार्टी नै संकटमा परेपछि एक पक्षको साथले मात्र चुनाव त जितिँदैन । हाम्रा साथीहरुलाई यही कुरा बुझाउन सकिएन ।’
यसअघि देउवामाथि पार्टीको नभइ सत्ता गठबन्धनको सभापति भएको आरोप लागेको थियो । पछिल्ला केही दिनमा देउवा लचिलो भए पनि उनी निकटका नेताहरु भने बाईसे र चौबीसे राजाको रुपमा आफूलाई उभ्याउन खोजेको आरोप कोइराला पक्षका केही नेताको छ ।
जे भए पनि मुलुकको सबैभन्दा पुरानो र नेपालका हरेक परिवर्तनको नेतृत्वदायी भूमिका खेलेको पार्टी एक ढिक्का हुनुपर्नेमा सम्पूर्ण कांग्रेस कार्यकर्ताहरुको अपील रहेको पाइन्छ ।
कांग्रेस फुटे आफूहरुको अस्तित्व पनि समाप्त हुने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई पार्टीभित्रको विवाद मिलाउन सुझाव दिएका थिए ।
बालुवाटारमा निष्कर्षमा नपुगिसकेको छलफल भने वारपारको भएकाले पनि नेताहरु गम्भीर देखिएका छन् । कोइराला पक्षले ४० प्रतिशत सिट माग्दै आएकामा सहमतिमा पुग्न सकिन्छ भने ३० देखि ३५ प्रतिशतसम्ममा पनि छाड्न सकिने मनस्थिति बनाएर बालुवाटार पुगेको छ ।
निर्वाचन आयोगले बन्दसूचीको अन्तिम सूची बुझाउन सबै दललाई आजसम्मको समय दिएको छ । यसअघि असोज २ र ३ गतेको समय प्रारम्भिक बन्दसूचीको रहेको थियो ।
कांग्रेसभित्र क्लष्टरको समस्या पनि समाधान भएको छैन । आयोगले क्लष्टर मिलाएर बन्दसूची तयार नगरेको भन्दै पत्र नै पठाएको छ ।
त्यसको व्यवस्थापनसमेत कांग्रेसले गर्नुपर्नेछ । हिजो दिउँसोदेखि बालुवाटारमा रहेका नेताहरु सहमति गरेर मात्रै घर फर्कने छन् ।