arrow

तनहुँमा निर्वाचनको तयारी शुरु

logo
रासस
प्रकाशित २०७९ असोज १६ आइतबार
election-commission-hq-building-2022.jpg

तनहुँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी शुरु भएको छ । निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने समय नजिकिँदै गएकाले तनहुँमा तयारी शुरु गरिएको हो । 

निर्वाचनको तयारीस्वरुप तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । तनहुँ क्षेत्र नं २ अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शनिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, निर्वाचन अधिकृत गोविन्द उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

सो अवसरमा नगरप्रमुख पण्डितले निर्वाचन सम्पन्न गराउनका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन गराउन प्रहरी प्रशासन सक्षम रहेको बताए । प्रहरी उपरीक्षक रेग्मीले मतदातालाई ढुक्कसँग मतदान गर्न पाउने व्यवस्था मिलाइने बताए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार स्थापना गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश दलबहादुर केसी नियुक्त भएका छन् । 

निर्वाचनको मिति नजिकिँदै गएकाले तनहुँमा निर्वाचनको आवश्यक तयारी शुरु गरिसकिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । यसपटक सम्बन्धित निर्वाचन क्षेत्रमै कार्यालय स्थापना गरी मनोनयपत्र दर्ता र मतगणनाको काम हुने उनले बताए । जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता कायम भएका छन् । स्थानीय तह निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिकपछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता संख्या कायम गरेको हो । 

स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए । तनहुँ क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नं २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ । विसं २०७४ को प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए । पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका छन् । 

तनहुँ क्षेत्र नं १ प्रदेशसभा (क) मा ६७ हजार एक सय ४४ र प्रदेशसभा (ख) मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नं २ प्रदेश (क) मा ६७ हजार ३२ र प्रदेश (ख) मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ