arrow

मनास्लु हिमालमा पुनः हिमपहिरो, एक जनाको मृत्यु

logo
रासस
प्रकाशित २०७९ असोज १७ सोमबार
Manaslu-Region_file_photo.jpg
फाइल तस्वीर

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए । 

पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए ।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । 

मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । 

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

सोमबार गएको हिमपहिरामा संखुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ