- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । लामिछानेलाई गौशाला प्रहरी वृतमा लगिएको छ ।
उनी कतार एयरवेजको फ्लाइटबाट फर्किएका थिए । उनले विमानस्थलमा ओर्लनासाथ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने फेसबुकमार्फत नै बताएका थिए । नावालिग किशोरीमाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका लामिछाने फरार रहदैँ आएका थिए ।
पक्राउ परे लगत्तै उनीमाथिको अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ । । अर्थात् काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको लामो समयपछि वेष्ट इन्डिजबाट फर्किएका उनलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।
निकै समय लगाएर फर्किएका लामिछानेले आफू एयरपोर्टमाा उत्रिँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई यसअघि नै अनुरोध गरेका थिए ।
१७ वर्षीया नाबलिग किशोरीले गत भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।
ती किशोरीको जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।
लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध टी–२० क्रिकेट शृंखला खेल्न भदौ ६ गते नैरोबी गएका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका थिए । त्यहीँ छँदा यहाँ उजुरी परेपछि उनी कानूनी प्रबन्ध मिलाउनका लागि उतै बसेर आज मात्र फर्किएका हुन् ।
जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरेको थियो । सीसीटीभीमा ती युवती र सन्दीप देखिएका थिए । प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको छ ।
प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान थालेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।
सन्दीप नेपाली क्रिकेटमा कम उमेरमै सर्वाधिक सफलता हासिल गर्ने व्यवसायिक खेलाडी हुन् ।