arrow

निर्वाचन : तनहुँमा पैँतीस सय बढी कर्मचारी खटाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको छ  ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदानस्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ तर्फ एक हजार आठ सय ३६ कर्मचारी परिचालन गरिनेछ ।  

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, चार सय दश सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य छ सय ५६ र तीन सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, तीन सय ५० सहायक, ७० सहयोगी, पाँच सय ६० अन्य र दुई सय ८० स्वयंसेवक नियुक्त गरिनेछ । 

तनहुँ क्षेत्र नं २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, तीन सय २० सहायक, ८० सहयोगी, अन्य छ सय ४० र स्वयंसेवक तीन सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, दुई सय ९२ सहायक, ७३ सहयोगी, अन्य पाँच सय ८४ र दुई सय ९२ स्वयंसेवक परिचालन गरिनेछ । 

जिल्लाका मतदान केन्द्रमा प्रतिकेन्द्र पाँचवटाका दरले एक हजार पाँच सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । त्यस्तै प्रतिकेन्द्र एउटाका दरले तीन सय पाँच मतदान सामग्री व्यवस्थापन गरिनेछ । 

निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ