arrow

मोरङ ६ मा शेखर र लालबाबुको उम्मेदवारी  

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ असोज २३ आइतबार
shekhar-koirala-lalbabu-pandit.jpg

मोरङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन्  । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधि सभा सदस्य पदका लागि उनले दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । 

कोइरालासँगै मोरङ निर्वाचन क्षेत्र नं ६ (ख) का लागि प्रदेश सभा सदस्यका लागि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि मनोनयन दर्ता गराएका छन् । 

डा कोइरालाले गठबन्धनको नेतृत्व गरेको कांग्रेसकै नेतृत्वमा बनेको सरकारले निर्वाचन पनि गर्ने भएकाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने विश्वास व्यक्त गरे । 
    
निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आपसी सल्लाह, रणनीति र समन्वय हुने भन्दै डा कोइरालाले भने, “आसन्न निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । पार्टीको जग बसाल्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको विरोध गरेको हो, प्रतिनिधिसभा र प्रदेशसभाका लागि होइन, आसन्न निर्वाचनमा हामी हाम्रो गठबन्धनसँग मिलेर जाने हो ।” 

यसैगरी, मोरङ निर्वाचन क्षेत्र नं ६ का लागि प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले) का नेता लालबाबु पण्डितले पनि आफ्ना मनोनयन दर्ता गराएका छन् । 
    
उनले सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै जनताका चाहना अनुसार आफूले काम गरेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे । जनताका चाहना नै मेरो निर्वाचनको एजेण्डा भएकाले आफू यस क्षेत्रको अब्बल उम्मेदवार भएको उनले प्रष्ट पारे । 

साथै, मोरङ निर्वाचन क्षेत्र नं ५ (ख) बाट प्रदेश सभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन् । 

डा. कोइरालाको सीधा भिडन्त नेकपा एमालेका लालबाबु पण्डितसँग हुने भएको छ । पंडितले दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गराएका थिए । २०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए । 

उम्मेदवारी दर्ता गराएपछि नेता पण्डितले सबैको साथ सहयोगले चुनाव जित्ने बताए । उनले अधुरा विकास निर्माणको काम पूरा गर्नु पर्ने भएकोले आफूले उम्मेदवारी दिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ