arrow

कैलालीका पाँच प्रतिनिधि सभा सदस्य पदका लागि पचास जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
lekhraj-bhatta-minister-industry.jpg

कैलाली । आउने मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधि सभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आइतवार उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ मा ११, क्षेत्र नं २ मा नौ, ३ मा आठ, ४ मा ११ र ५ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
 
 यस्तै क्षेत्र नं १ को (क) र (ख) प्रदेश सभातर्फ १९, क्षेत्र नं २ को (क) र (ख) प्रदेशसभातर्फ २०, क्षेत्र नं ३ को (क) र (ख) प्रदेशसभाका लागि २१, क्षेत्र नं ४ को (क) र (ख) प्रदेशसभातर्फ १९ र क्षेत्र नं ५ को (क) र (ख) प्रदेशसभातर्फ १४ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रतिनिधि सभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ । यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसले कारबाही गरेका पूर्वमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । 

प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र नं ३ को (ख) मा सात जनाले दर्ता गराएका छन् । प्रतिनिधि सभा तथा प्रदेशसभाका आकांक्षीहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दर्ता गराए ।
 
कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराए । निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभामा कांग्रेसका युवानेता प्रकाशबहादुर देउवा, निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभामा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी र सोही क्षेत्रको प्रदेशसभामा अर्का केन्द्रीय सदस्य डा रणबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ