arrow

घनश्याम भुसालदेखि गोविन्दराज जोशीसम्मले दिए स्वतन्त्रबाट उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २४ सोमबार
ghanashyam-bhusal-uml.jpg

काठमाडौं । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि चिरपरिचित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस पटकको निर्वाचनमा नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालदेखि नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीसम्मले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका छन् ।
 
घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । एमालेले भुसाललाई टिकट नदिएपछि शनिवार पार्टी छाडेको घोषणा गरेका थिए । 

कांग्रेस नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका जोशी स्वतन्त्र उम्मेदवार बनेका हुन् । 

एमालेकै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
 
कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीले टिकट नदिएपछि चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका अर्का नेता अमरेशकुमार सिंहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट असन्तुष्ट कामपा–६ का पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले प्रदेश (क) का लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिइन्।

लेखक युग पाठकले झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ